भूकम्पपछि २७ जना क्षयरोगी सम्पर्क विहिन

  • 29 अगस्ट 2015
तस्वीर कपीराइट AP
Image caption फोक्सोको क्षयरोग निकै सरुवा हुने भएकाले सरकारले डट्स उपचार पद्दती अँगालेको छ

भूकम्पपश्चात प्रभावित जिल्लाहरुबाट २७ जना क्षयरोगीहरु उपचारको बीचबाटै वेपत्ता भएको भन्दै अधिकारीहरुले उनीहरुबाट अन्यलाई क्षयरोग सर्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

ती जिल्लाहरुमा आधा जसो क्षयरोग उपचार तथा जाँच केन्द्रहरु पनि भूकम्पका कारण ध्वस्त भएको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ। फोक्सोको क्षयरोग निकै सरुवा हुने हुँदा सरकारले त्यसका विरामीहरुलाई डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार गराउने डट्स भन्ने पद्धति अँगालेको छ।

वैशाख १२ को भूकम्पपश्चातको अन्योलको समयमा थुप्रै क्षयरोगीहरुको नियमित उपचार र औषधी सेवनमा तलमाथि परेको थियो।

सरुवा रोग

जसमध्ये मल्टी ड्रग रेसिस्टेन्ट भनिने एकदमै कडा किसिमको क्षयरोग लागेका १५१ जना पनि थिए। हालसम्म ती सबै को उपचार नियमित हुन थालिसकेको बताइन्छ।

तर फोक्सोको क्षयरोग लागेका अन्य २७ जना भने अझै वेपत्ता रहेको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डाक्टर विकास लामिछानेले बताएका छन्।

“सत्ताईस जना बिरामी हामीले भेट्टाउन सकेनौं। ती मध्ये १४ जनाले मात्रै भर्खरै उपचार शुरु गरेका हुनाले अन्यलाई रोग सार्न सक्छन्। बाँकीले चाहीं सारिहाल्ने अलि कम सम्भावना हुन्छ,” डाक्टर लामिछानेले बताए।

त्यसरी वेपत्ता हुनेहरुमध्ये अधिकांश काठमाण्डौं उपत्यकाबाटै रहेका छन्। देशका विभिन्न भागबाट यहाँ आएका ती बिरामीहरु भूकम्पपछि आफ्नै थातथलोमा फर्किएको र त्यतैको उपचार केन्द्रमा पुन: सम्पर्कमा आएको हुन सक्ने केन्द्रको आशा छ।

तर हालसम्म उनीहरु सम्पर्कमा आएको पुष्टी हुन नसकेकाले कतै उनीहरुले स्वास प्रस्वासको माध्यमबाट स्वस्थ्य मानिसलाई क्षयरोग सार्ने हो की भन्ने चिन्ता केन्द्रको छ।

समस्या

भूकम्पकै कारण खासगरी ११ वटा जिल्लामा क्षयरोग उपचार केन्द्रहरु आधाजसो ध्वस्त भएकाले केन्द्रलाई थप समस्या परेको छ।

“विपदपछिको अवस्था कस्तो छ भने यी जिल्लामा झण्डै ४६ प्रतिशत क्षयरोग उपचार केन्द्र तथा ४८ प्रतिशत जाँच केन्द्र ध्वस्त भएका छन्। त्यसले गर्दा हामीलाई क्षयरोगीहरुको तथ्याँक राख्न अलि समस्या परेको छ,” उनले भने।

नेपालमा हाल प्रत्येक वर्ष करीब ४३ हजार मानिसलाई फोक्सोको क्षयरोग लाग्ने गरेको अनुमान छ।

तीमध्ये करीब २ प्रतिशतलाई अति कडा किसिमको क्षयरोग लाग्ने अनुमान छ।

वर्षमा ४ देखि ५ हजारको यही रोगबाट ज्यान जाने गरेको केन्द्रका निर्देशकले बताए।