भेनेजु‌एलाद्वारा कोलम्बियासँगका थप नाका बन्द

  • 29 अगस्ट 2015
तस्वीर कपीराइट AFP
Image caption घुसपैठ हुने गरेको भन्दै भेनेजुएलाले सीमा-नाका बन्द गरेको हो

भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले कोलम्बियासँगको आफ्नो देशका थप सीमा-नाका बन्द गरेका छन्।

उनले पश्चिमी राज्य तत्चिराका छवटा नगरस्थित नाकाहरु बन्द गर्ने निर्णय गरेका हुन्।

तस्करहरुको गोली प्रहारबाट आफ्ना सैनिकहरु घाइते भएपछि भेनेजुएलाले एक साताअघि मुख्य नाकाहरु बन्द गरेको थियो।

तस्करहरुले सस्तो पेट्रोल सहित भेनेजुएलाको समाजवादी सरकारले अनुदानमा दिने अन्य सामान कोलम्बियास्थित सीमा-क्षेत्रमा बेचेर ठूलो नाफा कमाउने गर्छन्।

बन्द गरिएका थप सीमा-नाका रहेका ठाउँहरुमा कोलम्बियाका अर्ध-सैन्यबल र आपराधिक समूहहरुले घुसपैठ गर्न गरेको राष्ट्रपति मडुरोको भनाई छ।

साझा चाहाना

उनले आफ्ना हजारौं समर्थकहरुको र्यालीलाई शुक्रवार सम्बोधन गर्दै भने, "गत साताको सुरक्षा कारबाहीबाट कोलम्बियाका अर्ध-सैन्यबल र आपराधिक समूहहरुले घुसपैठ गर्छन् भन्ने कुराका प्रमाणहरु भेटिएका छन्।"

उनका अनुसार फौजले पुरुषहरुलाई आर्थिक दास र महिलाहरुलाई यौन दासीको रुपमा राखेका आपराधिक समूहहरुलाई छिन्नभिन्न पारिदिएका छन्।

उक्त क्षेत्रमा थप तीन हजार फौज परिचालन गर्ने घोषणा पनि उनले गरेका छन्।

कोलम्बियाका राष्ट्रपति ख्वान म्यानवेल सान्तोसले समस्या समाधानका निम्ति केही नगरेको उनको गुनासो छ।

कोलम्बियाका राष्ट्रपतिले भेनेजुएलाले दुई देशको सीमा-नाकासँग सम्बन्धित विषयमा एकपक्षीय निर्णय गरेको भन्दै त्यसको आलोचना गरेका छन्।

तर दुबै राष्ट्रपतिले संकटको समाधन खोज्न आफूहरु इच्छुक रहेको बताएका छन्।