युक्रेनमा हिंसात्मक प्रदर्शन

  • 31 अगस्ट 2015
तस्वीर कपीराइट AFP
Image caption युक्रेनमा गत वर्ष मार्च महिना यता भड्किएको हिंसामा सात हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ

युक्रेनमा संविधानमा प्रस्तावित परिवर्तनलाई लिएर हिंसा भड्किएको छ।

कियेभस्थित संसद भवन अगाडी प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा एक जना सुरक्षाकर्मीको ज्यान गएको छ।

अन्य एक सय घाइते भएको बताइएको छ।

विवादास्पद पूर्वी क्षेत्रलाई स्वायतत्ता दिने गरी संविधानमा ल्याउन लागिएको संशोधनलाई लिएर विरोध प्रदर्शनहरु भएका हुन्।

विरोध

सांसदहरुले उक्त प्रस्तावलाई प्रारम्भिक रुपमा समर्थन जनाएलगत्तै प्रदर्शनकारीहरुले विरोध जनाएका थिए।

उनीहरुले संसदको सुरक्षार्थ खटिएका प्रहरीमाथि पटका र पेट्रोल बम प्रहार गरेका थिए।

घटनास्थलमा रहेका एक जना संवाददाताका अनुसार थुप्रै मानिस रगतमा लतपत भएको अवस्थामा छन्।

पछिल्लो हिंसामा एक जना प्रहरीको ज्यान गएको बताइएको छ। यसैगरी प्रहरी र प्रदर्शनकारीतिर गरी अन्य एक सय जना घाइते भएको बताइएको छ।

घाइतेमध्ये पत्रकारहरु पनि रहेको विवरणहरु प्राप्त भएका छन्। प्रस्तावित संशोधनले दोनेस्क र लुहान्स्क क्षेत्रलाई बढी अधिकार दिने परिकल्पना गरेको छ।

ती क्षेत्र रुस समर्थित विद्रोहीहरुको नियन्त्रणमा छन्।

समर्थन

गत फेब्रुअरीमा युक्रेन रुस र विद्रोहीबीच मिन्स्कमा भएको सम्झौताको हिस्साको रुपमा पछिल्लो संशोधन आएको हो।

तर यसको कार्यान्वयन सहज देखिएको छैन।

संसदभित्रै पनि उक्त प्रस्तावलाई लिएर चर्काचर्की परेको थियो।

तर २ सय ६५ जना सांसदले उक्त संशोधनको पक्षमा मतदान गरेका थिए।

तर त्यसलाई पारित गराउन ४५० सदस्यीय संसदका तीन सय सांसदको समर्थन आवश्यक पर्नेछ।

युक्रेनमा गत वर्ष मार्च महिनायता भड्किएको हिंसामा सात हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ।