हडतालमा बालबालिका प्रयोग 'चिन्ताजनक'

  • 2 सेप्टेम्बर 2015
Image caption चलिरहेका आन्दोलनमा बालबालिकाको प्रयोग भएकोमा चिन्ता व्यक्त गरिएको छ

संघीय प्रदेशहरुका सीमाङकनसँगै शुरु भएका बन्द हडतालका कारण लाखौं बालबालिकाको पठनपाठनको अधिकारको हनन् भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले चिन्ता व्यक्त गरेको छ।

हालका आन्दोलनहरुमा उनीहरुको व्यापक प्रयोग गरिएको आयोगले भनेको छ।

करिव ३ साता देखि तराईका जिल्लाहरुमा बन्द रहेका विद्यालयहरु संचालन गर्न र आन्दोलनमा बालबालिकाको प्रयोग नगर्न आयोगले आन्दोलनरत पक्ष र सरकारलाई आग्रह गरेको छ।

आन्दोलनरत दलहरुले विद्यालय बन्द गर्ने आफुहरुको कुनै कार्यक्रम नरहेको र सरकारकै गतिविधिका कारण विद्यालय बन्द भएको बताएका छन्।

पढ्न पाएनन्

दलहरुले ६ प्रदेशको सीमाङकनमा सहमति जुटाए देखि नै बन्द रहेका कैलालीका विद्यालय बन्द भएको ३ हप्ता पुग्दा सम्म पनि संचालन हुन सकेका छैनन्।

दिन दिनै बढ्दै गएका आन्दोलनका कार्यक्रम सँगै शुरु भएका बन्द हडताल र लाग्ने गरेका निषेधित क्षेत्र अनि कर्फ्युको मारमा विद्यालय र त्यहाँ पढने विद्यार्थी पर्ने क्रम चलिरहेको आयोगले जनाएको छ।

आयोगका कायम मुकायम सचिव बेद प्रशाद भट्टराईले भने "लामो समय देखि विभिन्न जिल्ला बन्द भैरहँदा विद्यालयहरु सुचारु हुन सकेका छैनन्। विद्यालयका सवारी साधन समेत चल्न नपाउँदा विद्यार्थीले शिक्षा पाउन नसकेको स्थिति देखिएको छ।"

आयोगले जुम्ला र सुर्खेत देखि शुरु भएको आन्दोलनमा बालबालिकाको प्रयोग गर्ने कामले तराईमा पनि निरन्तरता पाएको जनाएको छ।

बालअधिकार सम्बन्धी महासन्धि विपरित भैरहेको भन्दै यस्ता कार्य रोक्न आयोगले सबैलाई आग्रह गरेको भट्टराईले बताए।

'साझा सम्पत्ती'

उनले भने "आयोगको अनुगमनका क्रममा बालबालिकाहरुको यथेष्ट मात्रामा अझै पनि प्रयोग भैरहेको देखिन्छ। बालबालिका भनेका भोलिका कर्णधार हुन र सबैका साझा सम्पती हुन्। आफ्नो राजनीतिक अभिष्ठ पूरा गर्न कसैले पनि प्रयोग गर्नु हुँदैन भन्ने हाम्रो आग्रह हो।"

आफुहरुले गरिरहेको आन्दोलनमा बालबालिकाको प्रयोग नगरेको आन्दोलनरत दलहरुले दावी गरेका छन्।

कुनै कुनै ठाँउमा बालबालिका आफु खुसी सहभागी भएको उनीहरुको भनाई छ। आन्दोलनका क्रममा विद्यालय बन्द गर्ने आफुहरुको कार्यक्रम नरहेको उनीहरुको भनाई छ।

सरकारकै गतिविधिका कारण विद्यालय बन्द भएको आन्दोलनरत संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए।

उनले भने "विद्यालय नपरोस भन्ने चाहाना हो। तर कर्फ्यु लाग्ने, गोली चलाउने, निषेधाज्ञा जारी गर्ने, मान्छे पक्रने, सेना परिचालन गर्ने जस्ता राज्यले सृजना गरेको असामान्य अवस्थाका कारणबाट यस्तो स्थिति उत्पन्न भएको हो।"

लामो समय सम्म विद्यालय बन्द रहँदा विद्यार्थीहरुको पठन पाठनमा असर परेको भन्दै कतिपय जिल्लामा नागरिक समाज र अधिकारकर्मीहरुको पहलमा आन्दोलनरt दलहरु सँग छलफल गरेर पठन पाठन शुरु गरिएका छन्।