असन्तुष्टसँग वार्ताको संयोजन: माओवादी

  • 3 सेप्टेम्बर 2015
Image caption एमाओवादी अध्यक्ष प्रचण्डले असन्तुष्ट पक्षसँग कुराकानी गरिरहेको बताइएको छ

एकीकृत माओवादीले देशका विभिन्न ठाउँमा भैरहेका तनावलाई सम्बोधन गर्न भन्दै असन्तुष्ट पक्षका नेताहरुसँग अनौपचारिक छलफल सुरु गरेको बताएको छ।

यथास्थितिमा सरकारसँग वार्तामा बस्न अस्विकार गरिरहेका तराइ केन्द्रीत दलका शिर्ष नेतासँग पार्टी अध्यक्ष प्रचण्डले कुराकानी थालेको माओवादी सचिव बर्षामान पुनले बताए।

सत्तापक्ष र असन्तुष्ट दलबिच वार्ताको वातावरण बनाउन कोशीसमा उक्त पहल सुरु भएको माओवादीको भनाई छ।

आन्दोलनरत तराइ केन्द्रित दलका नेताहरुले विगतका सहमति कार्यन्वयनको प्रतिबद्धता र प्रदर्शनमा भैरहेको दमन नरोकिएसम्म सरकारसँग वार्तामा नबस्ने अडान राखिरहेका छन्।

पहलकदमी

तर सरकार र असन्तुष्ट दल बिच बढेको दुरी कम गर्न आफूले पहलकदमी लिएको एकीकृत माओवादीले जनाएको छ।

माओवादीका सचिव बर्षमान पुनले भने- 'आन्दोलनरत पक्ष र संविधान निर्माणमा जुटेका सत्तारुढ पक्ष र अन्य शक्तिलाई एक ठांउमा ल्याउने हाम्रो महत्वपुर्ण भूमिका छ। मधेसबादी दलहरुसंग खासगरी महन्त ठाकुर र उपेन्द्र यादवसंग छलफल चलिरहेको छ। संविधानमा सहमति गर्ने संविधान जारी गर्नेमा हाम्रो नेतृत्व हाम्रो अध्यक्षले यसलाई सघन रुपमा अगाडी वढाउनु भएको छ।'

जारी छलफलमा एकीकृत माओवादीले प्रस्तावित ७ प्रदेशमा थारु र मगर बाहुल्य रहेका क्षेत्रहरुको सिमांकन मिलाउने र विवाद देखिएका जिल्लाबारे टुंगो लगाउने जिम्मा आयोगलाई दिने प्रस्ताव राखेको पुनले बताए।

उनले भने - 'मधेसी, जनजाती, दलित, महिलाहरुको समानुपातिक समावेशी बारेमा उपाय खोज्ने कुरा गरेका छौं। आजकै मितिमा हल गर्न नसक्ने सीमांकनका विषय संघिय आयोग गठन गरेर त्यसले अविलम्व काम थालनी गर्ने भनेर हामी प्रयत्न गरिरहेका छौं ।'

असन्तुष्ट दलका नेतासँग कुराकानी थालेका एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले बुधवार नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए।

माग सम्बोधन

असन्तुष्ट पक्षका माग सम्बोधन गर्ने गरी संविधानको विधेयक छलफल गर्नेबारे सत्तापक्षसँग भैरहेको छलफलमा कुनै निष्कर्षमा नपुगेको एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।

उनको भनाई थियो - संविधान घोषणा गर्दाखेरी कतिसम्म सम्वोधन गर्ने बारेमा छलफल गरौं भन्ने ठांउमा उहाहरु पुग्नु भएको छ, तर हामी कुनै एक ठांउमा पुगिसकेका छैनौं।