हंगेरीमा आप्रवासीको अन्यौलपूर्ण दृश्य

  • 4 सेप्टेम्बर 2015
तस्वीर कपीराइट Getty
Image caption आप्रवासी समस्या समाधानका लागि पर्याप्त काम नगरेको भन्दै युरोपेली नेताहरुको आलोचना भइरहेको छ

सर्वियाली सीमा नजिकैको शिविरबाट सयौं मानिसहरु भागेका छन्। तिनलाई प्रहरीले लखेटिरहेका छन्।

यसबीच राष्ट्रसंघका शरणार्थीसम्बन्धी निकायका प्रमुखले यूरोपेली युनियनले एक साझा रणनीति बनाएर आप्रबासी समस्याको समाधान गर्नुपर्ने बताएका छन्।

हंगेरीमा आप्रबासीका कारण समस्या चर्कँदै गर्दा संयुक्त राष्ट्रसंघले भनेको छ इयु सदस्य राष्ट्रहरुले दुई लाख शरणार्थीलाई स्वीकार गरेर हाल उनीहरुले अख्तियार गरेको खुद्रा शैलीको समाधानलाई त्याग्नु पर्छ।

संकट

राष्ट्रसंघका शरणार्थी निकायका प्रमुख एन्टोनियो गुटेरेजले इयुलाई संकट समाधान गर्न सम्पूर्ण शक्ति लगाउन आग्रह गरेका छन्।

शरणार्थीको भारबारे इयुका नेताहरुमाझ विभिन्न मत देखिएपछि उनीहरु सहमतिका लागि प्रयासरत छन्।

यसबीच हंगेरीका साँसदहरुले उनीहरुको देश हुँदै जर्मनी जान चाहने आप्रबासीलाई रोक्न कडा सीमा नियन्त्रण तथा जरिवाना सम्बन्धी निर्णय गरेका छन्।

आप्रबासी समस्याबारे छलफल गर्न पोल्यान्ड चेक गणतन्त्र स्लोभाकिया तथा हंगेरीका नेताहरुबीच एक असाधारण बैठक प्रागमा आयोजना गरिँदैछ।

यस वर्ष भूमध्ये सागरबाट युरोप छिर्ने प्रयास गरेका २६ सय भन्दा बढी आप्रवासीले ज्यान गुमाएका छन्।

बिहीबार रातो टिसर्ट लगाएको र अनुहार घोप्टो परेको अवस्थामा बोड्रम भन्ने स्थान नजिकैको तटमा भेटिएको एकजना ३ वर्षीय बालकको शवको तस्विर अनलाईनभरि छरिएपछि त्यसले संसारभर आक्रोश सिर्जना गरेको थियो।

उक्त तस्वीर प्रकाशित भएपछि सिरियाली गृहयुद्धका पीडितहरु प्रति व्यापक सहानुभूती व्यक्त भइरहेको छ।

<span >कष्टकर

अझ बढी शरणार्थी स्वीकार गर्न माग गर्दै ब्रिटेनमा सुरु गरिएको अनलाईन निवेदनको पक्षमा एक लाख भन्दा बढीको समर्थन जुटेको छ जसको अर्थ उक्त विषयले अब संसदमा छलफलका लागि आवश्यक योग्यता पूरा गरेको छ।

ब्रिटिश प्रधानमन्त्री डेविड क्यामरनले आइलनको तस्वीरले आफु भावविह्रल भएको तर धेरै मानिसहरुलाई शरणार्थीको रुपमा स्वीकार गर्नु समाधान नभएको बताएका छन्।

उनले भने, “हामीले जुन देशबाट यी मानिसहरु आइरहेका छन् त्यहाँको अवस्था सुधार गर्नुपर्छ, मैलै हिजो पनि भने हामीले संख्याको बारेमा पुनर्विचार गरिरहेका नै हुन्छौँ र हामीले जहिले पनि अझ धेरै गर्न सक्छौँ तर मानिसहरुलाई लिनु नै मात्र समाधान होइन, समस्याको सबै पक्षको समग्र समाधान खोज्नुपर्छ।”

अन्तराष्ट्रिय आप्रवासी संगठन आइओएमले यसै हप्ता सार्वजनिक गरेको तथ्याकं अनुसार गएको जनवरी यता करिब साढे ३ लाख आप्रवासीहरुले समुन्द्र मार्फत युरोपको तटसम्मको कष्टकर यात्रा गरेका छन्।

यसै हप्ता टर्कीस सरकारले आफ्ना तटरक्षकहरुले पाँच महिनामा ४२ हजार र अघिल्लो हप्ता मात्र झन्डै २२ सय आप्रवासीको उद्दार गरेको जनाएको छ।