हङ्गेरीमा आप्रवासी-प्रहरीबीच तनाव जारी

  • 4 सेप्टेम्बर 2015
बिच्का रेल स्टेसन तस्वीर कपीराइट AP
Image caption हंगेरिको बिच्कामा बिहिबार दिउसो देखि चर्किएको तनाव मध्यरातसम्म पनि जारी थियो

हङ्गेरीको बुढापेस्ट नजिकैको बिच्का शहरमा रेलमा सवार आप्रवासी र प्रहरीबीचको तनाव मध्यरातसम्म पनि जारी रहेका विवरणहरु प्राप्त भएका छन्।

बुढापेस्टदेखि ३० किलोमिटर पर अवस्थित बिच्का नगरमा रोकिएको रेलमा सवार हजारौं शरणार्थीलाई प्रहरी दर्ताका लागि शिविरमा लैजान चाहान्छ, तर आप्रवासीहरु अष्ट्रियाको सीमा पार गर्न उद्दत देखिन्छन्।

बिच्का पुगेका बीबीसी संवाददाता भन्छन् सो रेलमा सवार यात्रुहरु महिनौंदेखि यात्रामा छन् र उनीहरु हङ्गेरीको सीमा पार गरेर अष्ट्रिया वा जर्मनी जान चाहान्छन्।

उनीहरु हङ्गेरीको प्रहरीसँग भिड्न समेत तयार देखिएका छन्।

लाजमर्दो

ब्रसेल्समा जारी युरोपेली नेताहरुको वैठकमा बोल्दै हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्वनले आफ्नो देश शरणार्थीहरुले भरिएको र थप मुसलमान आप्रवासी आफ्नो देशले थेग्न नसक्ने बताएका छन्।

तर बिच्का आइपुगेको अष्ट्रियाको ग्रीन पार्टीकी नेतृ एलेव कोरुनले बिच्कामा उत्पन्न परिस्थिती लाजमर्दो भएको बताइन्।

“सिरिया वा इराक वा अफगानिस्तानका मानिसहरुले यस्तो आपतको सामना गर्नु परिरहेको छ। यो देखेर युरोपेली संघको एक नागरिकको हैसियतले मलाई लाज लागिरहेको छ।”

“मेरो अपेक्षा छ अब अष्ट्रियाको सरकारले यिनीहरुलाई मद्दत गरोस् ताकी यिनीहरु यात्रा जारी राख्न सकुन ताकी हामी कुनै समाधान फेला पार्न सकौं।”

तर ब्रसेल्समा जारी एक वैठकमा युरोपेली नेताहरु बढ्दो आप्रवासी समस्याको समाधानबारे साझा धारणा बनाउन विफल देखिएका छन्।