संशोधन विधेयकमा मंगलबारदेखि बहस

  • 6 सेप्टेम्बर 2015
Image caption संविधान निर्माण अन्तिम चरणमा पुग्दा मस्यौदामाथिको असन्तुष्टीले चुनौति थपेको छ

भदौ मसान्त भित्र संविधान जारी गर्ने गरी आफुले तयारी गरिरहेको संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बताएका छन्।

संविधानको परिमार्जित विधेयकमाथि सभासदहरुले राखेका संशोधन बारेका छलफल मंगलबार देखि शुरु गरिने उनको भनाई छ।

यसबीच आन्दोलनरत दलहरु र ३ प्रमुख दलकामाझ कुनै सहमति जुटन सके ती सहमतिलाई अझै पनि समावेश गर्न सकिने ठाँउ रहेको नेम्वाङले बताएका छन्।

प्रस्ताव

विभिन्न आन्दोलन झेल्दै र भिन्न भिन्न प्रक्रिया पार गर्दै संविधान निर्माणको काम परिमार्जित विधेयकमाथि संशोधन राख्ने सम्म टुंगिएको छ। सभामा विधेयकबारे ५६ वटा संशोधन प्रस्ताव परेका छन्।

तिनै संशोधन माथिको छलफलपछि संविधानको अन्तिम विधेयक बारे बहस शुरु गर्ने र भदौ मसान्त सम्म संविधान जारी गर्ने गरि आफुले तयारी गरिरहेको सभाअध्यक्ष सुवास नेम्वाङले बताए।

उनले भने "२२ गते देखी संविधानमाथिको छलफल औपचारिक रुपमा शुरु हुन्छ। त्यो प्रक्रियालाई अघि बढाएर भदौ मसान्त भित्र संविधान जारी हुन्छ भन्ने मेरो विश्वास छ। त्यही अनुसार म आवश्यक तयारीहरु गरिरहेको छु।"

हाल संविधानसभा सचिवालयले संशोधन प्रस्तावहरुलाई एकीकृत गरेर संशोधन प्रस्ताव सहितको विधेयक बनाउने काम गरिरहेको बताइएको छ।

सम्भावना

संशोधन प्रस्ताव फिर्ता लिने समय दिने र फिर्ता नलिइएमा तिनलाई मतदानको प्रक्रियाबाट टुङगो लगाइने बताइएको छ।

त्यस लगत्तै संविधानको विधेयकमाथि छलफल गराउने काम शुरु गर्ने संविधानसभा सचिवालयले जनाएको छ।

यसरी संविधान निर्माणको प्रक्रियाले गति पाउँदै गर्दा संविधान निर्माणका प्रक्रिया सँग असन्तुष्टि जनाउँदै आन्दोलनमा गएका दलहरुसँग कुनै सहमति भएमा भने त्यसलाई समावेश गर्ने सम्भावना नटरेको नेम्वाङको भनाई छ।

त्यसै अनुरुप प्रक्रियाबाट बाहिरिने बताउँदै आएको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदार सँग आईतबार साँझ उनले छलफल गरे। त्यसपछि बोल्दै उनले भने, "अहिले पनि परेका जुन संशोधनहरु छन् त्यसलाई ध्यानमा राखेर हामी अझैपनि सहमतिका आधारहरु तयार गर्न सक्छौं भन्ने मलाई लागेको छ। आईतबार दिन भरी त्यही प्रयास गरें।”

आन्दोलनरत दलहरुले उठाउँदै आएको संविधान निर्माणको प्रक्रिया स्थगनको माग औपचारिक रुपमा आफु सम्म नआएको र अब स्थगनको सम्भावना नरहेको नेम्वाङले बताए।

संविधानसभाबाट संविधानको विधेयक पारित गर्न कुल संख्याको २ तिहाई आवश्यक पर्ने छ।

हाल संविधानसभामा ५९८ सभासद संख्या रहेको छ।

संविधान निर्माणका लागि १६ बुँदे सहमतिदेखि नै ठूला ३ दल सँगै रहेको फोरम लोकतान्त्रिक प्रक्रियाबाट बाहिरिए पनि ३ ठूला दल र अरु केही साना दललाई साथ लिएर २ तिहाई पुर्याउने तयारीमा मुख्य दलहरु रहेको देखिन्छ।