आप्रवासी जर्मनी जांदै

  • 6 सेप्टेम्बर 2015
migrant तस्वीर कपीराइट AP
Image caption जर्मनी जान पाएपछि आप्रवासीहरुले खुशी व्यक्त गरेका छन्

हंगेरीमा केही दिन अड्किएका हजारौं आप्रवासीले अष्ट्रिया हुंदै जर्मनीतर्फको यात्रा तय गइरहेका छन्।

अष्ट्रिया र हंगेरीको सीमाबाट कयौं आप्रवासीलाई भियना पुर्याइ सकिएको छ।

ती आप्रवासीलाई लिनका लागि जर्मनीको म्युनिख रेलस्टेशनमा थुप्रै रेल पुगेका छन्।

म्युनिख स्टेशनबाट रेलहरुले आप्रवासीहरुलाई शरण प्रक्रियाका लागि जर्मनीका विभिन्न शहरहरुमा पुर्याउने बताइएको छ।

स्वागत

म्युनिखमा पहिलो खेपमा ८ हजार आप्रवासी पुगिसकेको जनाइएको छ।

त्यहां पुग्दा आप्रवासीहरुलाई ताली पिटेर स्वागत गरिएको थियो र केटाकेटीलाई मिठाइ बांडिएको थियो।

आप्रवासीहरु हंगेरी आउनुपूर्व ग्रीस, मेसेडोनिया र सर्बियाको यात्रा तय गरेका थिए।

हिजोमात्रै १० हजार मानिस अष्ट्रिया प्रवेश गरेको विवरण आएका छन्।

आह्वान

थप शरणार्थीलाई लिन १ सय ५० वटा कार लिएर अष्ट्रियाका अभियन्ताहरुको एउटा समूह हंगेरी प्रवेश गरेको छ।

केही दिनको तनाव र झडपपछि हंगेरीले अष्ट्रियासंगको आफ्नो सीमाना खोलेको थियो र त्यहां हजारौं आप्रवासीलाई बसमा पुर्याइएको थियो।

हंगेरीको व्यवहारबाट रुष्ट कयौं आप्रवासीले अष्ट्रियतर्फको यात्रा हिंडेरै तय गर्न सुरु गरेका थिए।

धेरै आप्रवासीका लागि जर्मनी आकर्षक गन्तव्यको रुपमा रहंदै आएको छ र उसले यो वर्षमात्रै ८ लाख आप्रवासीलाई लिने अपेक्षा गरेको छ।

यसैबीच इसाइ धर्मगुरु पोप फ्रान्सिसले युरोप भर रहेका रोमन क्थोलिक धर्मावलम्बीलाई आप्रवासी संकट समाधानका लागि सक्दो गर्न आह्वान गरेका छन्।