नेपाली महिला ‘बलात्कार’ बारे अनुसन्धान

  • 9 सेप्टेम्बर 2015
Image caption गुडगाँव प्रहरीले बलात्कारसम्बन्धी आरोपमा अहिलेसम्म कसैलाई पक्राउ नगरिएको जनाएको छ

दुईजना नेपाली महिलामाथि बलात्कार भएको भनिएको घटनामा साउदी अरेबियाका एकजना कूटनीतिज्ञ संलग्न रहेको आरोपबारे अनुसन्धान गरिरहेको भारतीय प्रहरीले जनाएको छ।

दिल्लीसँग जोडिएको गुडगाँव प्रहरीका एकजना वरिष्ठ अधिकारी सौरभ सिंहले उक्त घटनाबारे अनुसन्धान जारी रहेको बीबीसी हिन्दीलाई बताए।

यद्यपि उक्त घटनामा अहिलेसम्म कसैलाई पक्राउ नगरिएको उनले जनाए।

समाचार संस्था प्रेस ट्रस्ट अफ इण्डियाका अनुसार पीडित नेपाली महिलाहरु ३० वर्ष उमेरको हाराहारीका छन् र उनीहरुले अपहरण गरी एउटा भाडाको घरमा आफूहरुलाई ती कूटनीतिज्ञले पटक-पटक ‘बलात्कार’ गरेको बताएका छन्।

घरेलु काम

गुडगाँव प्रहरीका अनुसार ती महिलाहरुले आफूहरुलाई यसअघि साउदी अरेबियाको जेद्दा शहरमा लगिएको र त्यहाँ घरेलु काम गरेको अनि त्यसपछि बलात्कार गरिएको बताए।

समाचार संस्थाहरुले जनाएअनुसार केही दिन पहिले ती महिलाहरुलाई साउदी अरेबियाबाट गुडगाँव ल्याइएको थियो र त्यहाँस्थित एउटा घरमा उनीहरुलाई बलात्कार गरिएको थियो।

गुडगाँव प्रहरीले भनेको छ, घटना भएको भवनको एउटा तल्ला साउदी दूतावासले भाडामा लिएको थियो।

अर्की महिला उक्त घरमा काम गर्न गएको बेला ती दुई महिलाको अवस्थाबारे थाहा पाएर उनले एउटा गैरसरकारी संस्थालाई जानकारी गराएको गुडगाँव प्रहरीलाई उद्धृत गर्दै पीटीआईले जनाएको छ।

त्यसपछि गुडगाँव प्रहरीले डीएफएल फेज २ स्थित एउटा भवनमा छापा मारेर ती महिलाहरुलाई मुक्त गराएको थियो।