'प्रकृया नरोकेसम्म मोर्चा वार्तामा नबस्ने'

  • 10 सेप्टेम्बर 2015
Image caption मधेशी फोरम लोकतान्त्रीकसँग सहकार्यको प्रयास गर्ने संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले जनाएको छ

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वातावरण नै नबनाई तीन ठूला दलले आव्हान गरेको वार्ताको कुनै औचित्य नभएको बताएको छ।

बिहीबार दिउँसो भैरहवामा वसेको मोर्चाका शीर्ष नेताहरुको वैठकले चालु संविधानसभाको प्रकृया नरोकेसम्म वार्तामा नबस्ने निर्णय गरेको छ।

तराईमा जारी आन्दोलनलाई अझ सशक्त बनाउने मोर्चामा आवद्ध दलका नेताहरुले चेतावनी दिए।

मोर्चाले हालै संविधानसभाको प्रकृयाबाट अलग भएका मधेशी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष विजयकुमार गच्छदारसँग वार्ता थाल्ने सङ्केत पनि गरेको छ।

अस्वीकार

तीन ठूला दलले आन्दोलनरत मधेसी दलहरुलाई वार्तामा आउन अपील गरेको भोलिपल्ट भैरहवामा वसेको ती दलका शीर्ष नेताहरुको बैठकले अपीलले मात्र वार्ताको वातावरण नबनेको निष्कर्ष निकालेको थियो।

वार्ताको वातावरणका लागि तराईका विभिन्न स्थानमा लगाईएको कर्फ्यु (निषेधाज्ञा) हटाउनु पर्ने निर्णय गरिएको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए।

उनले भने, “गोली चलाएर, मान्छे मारेर बन्दुकको छायाँमा वार्ता कसरी हुन्छ? त्यसैले शुरुमा यी कुराहरु बन्द हुनुपर्छ।”

संविधानको प्रकृया यथावत राखेर वार्ताको आव्हान गर्नुले ठूला दलमा वार्ता प्रतिको ईमान्दारिता नदेखिएको आरोप लगाउँदै उनले यसअघि मधेसी दलहरुसंग भएको सम्झौता कार्यान्वयनको ग्यारेण्टी हुनु पर्ने पनि बताए।

तयारी

बुधवार भैरहवामा आयोजित एक विरोधसभालाई सम्वोधन गर्न आएका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराइ मधेश लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरु बैठकमा सहभागी थिए।

सो बैठकले अर्का मधेशी नेता विजय कुमार गच्छेदारसंग पनि विचार र एजेण्डाको आधारमा सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको बताइएको छ।

उता बिहीबार झापामा आयोजित एक कार्यक्रमा बोल्दै मधेशी जनअधिकार फोरम लोकतान्त्रीकका नेता विजय गच्छेदारले पनि अव आन्दोलतरत अरु मधेशी दलसंग मिलेर अघि वढ्ने बताए।

लामो समयसम्म प्रमुख तीन दलसँग सहकार्य गर्दै आएका गच्छदार थरुहट प्रदेशको मुद्दामा कुरा नमिलेपछि ती दलसंग हालै मात्र अलग भएका थिए।