भूकम्पले सगरमाथा आरोहण मार्ग थप कठिन

  • 11 सेप्टेम्बर 2015
तस्वीर कपीराइट PA
Image caption खुम्बु आइसफल क्षेत्रमा शेर्पाहरुले आरोहण मार्ग मर्मत गरेका छन्

सगरमाथा शिखर आरोहणको मार्गमा भूकम्पका कारण विग्रिएको बाटो मर्मत गर्न गएका शेर्पा आरोहण सहयोगीहरुले त्यहाँ थप खर्पस अर्थात हिउँमा पर्ने गहिरा चिराहरु देखा परेको बताएका छन्।

उनीहरुका अनुसार आधार शिविर र क्याम्प वानको बीचमा रहेको खुम्बु आइसफल क्षेत्रमा खर्पसहरु थप देखा परेका हुन्।

ती चिराहरु सतहमा हेर्दा हिउँले छोपिएको हुने तर टेकेमा भास्सिने खालका हुन्छन्।

उक्त आइसफल विश्वको सर्वोच्च शिखर आरोहण गर्ने मार्गमा पर्ने सबभन्दा खतरनाक भाग हो।

मर्मत सकियो

हरेक आरोहण याम अगाडी बाटो मर्मत गर्ने काममा सामेल हुने आइसफल डक्टर भनेर चिनिने ती शेर्पाहरुले उक्त क्षेत्रमा कैयौं गहिरा चिराहरु देखिएको र जमीन झन् असमान बनेको बताएका छन्।

क्याम्प वान विगतको उचाईबाट केही तल झरेको अनि गत बसन्त याममा त्यहाँ पुगेका पर्वतारोहीहरुले छाडेका अधिकांश सामाग्री बाक्लो हिउँमा पुरिएको मर्मत टोलीका नेता आङ कामी शेर्पाले बीबीसीलाई बताए।

सो टोलीले आधार शिविर र क्याम्प वानबीचको बाटो मर्मत कार्य सकेको बताएको छ। क्याम्प वानबाट टु को बीचमा सानो भागमा मात्र अब मर्मत कार्य बाँकी रहेको टोली सदस्यहरुले बताए।

यसपाली भूकम्पका कारण विगत वर्षहरुभन्दा बाटो मर्मत गर्ने काम गाह्रो भएको शेर्पाले बताए।

चुनौति

मर्मतपश्चात पर्वतारोहीहरुलाई आरोहण गर्न सजिलो हुने तर पनि त्यहाँको विद्यमान अवस्थाका कारण चुनौति रहने उनले उल्लेख गरे।

वैशाखको भूकम्पका कारण सगरमाथा क्षेत्रमा आएको ठूलो हिमपहिरोमा परी आधार शिविरमा रहेका १८ जनाको ज्यान गएको थियो।

त्यसपछि आएका थप हिमपहिरोले सो बाटो मर्मत गर्ने कार्य असम्भव बनाइदिएपछि सबै आरोहण अभियान रद्द भए।

यसै महिनामा शुरु हुने शरद यामको आरोहण अघि मर्मत कार्य गर्न आइसफल डक्टरहरु दुई साता अगाडी सगरमाथा पुगेका हुन्। यो याममा दुई जापानी सहितको केवल एक टोलीले मात्र सगरमाथा आरोहण गर्दैछ। ल्होत्से तथा नुप्त्से हिमाल चढ्ने अन्य टोलीले पनि सोही खुम्बु आइसफल मार्ग प्रयोग गर्नेछन्।

सन् २०१४ को मे महिनामा आएको विशाल हिमपहिरोमा परी १६ आरोहण सहयोगीहरुको ज्यान गएको थियो। त्यसलगत्तै शेर्पाहरुले सो यामका सबै आरोहण बहिष्कार गरे।

यसपालीको बसन्त याममा हिमपहिरो छल्न खुम्बु आइसफलको देब्रेपट्टिको भागको साटो मध्येबाट चढ्ने गरी अधिकारीहरुले आरोहण मार्गमा केही फेरबदल गरेका थिए।

तर त्यसपछि भूकम्प आयो।

सोही भूकम्पका कारण तिब्बत पट्टिको भागमा समेत आएका थुप्रै हिमपहिरोका कारण बन्द गरिएको सगरमाथाको आरोहण चीन सरकारले पुन: शुरु गरेको छैन।

सगरमाथा नेपाल र चीनको सीमामा पर्छ। पर्वतारोहीहरुले दुवै देशबाट उक्त शिखर आरोहण गर्ने गर्छन्।

आश्वस्त

सरकार तथा त्यहाँको पर्यटन उद्योगले नेपाल सुरक्षित रहेको भन्दै पर्यटकहरुलाई आश्वस्त पार्ने प्रयास गरिरहेका छन्।

अधिकारीहरुका अनुसार यो याममा ३० वटा टोलीले आरोहण अनुमति लिएका छन्। यी टोलीमा दुई सयभन्दा धेरै पर्वतारीहीहरु रहेका छन्। आधीभन्दा धेरैले मनास्लु हिमाल चढ्ने अनुमति लिएका छन्। राजधानी काठमाण्डौंको उत्तर पश्चिममा अवस्थित विश्वको आठौं अग्लो उक्त हिमाल भूकम्पबाट सबभन्दा प्रभावित क्षेत्रमा पर्छ।

आरोहण सञ्चालक संघका प्रमुख डम्बर पराजुलीले सो हिमालको क्याम्प टु सम्म पर्वतारोहीहरु पुगिसकेको र हालसम्म कुनै समस्या नआएको बताए।

तर उनले ९ हजारको ज्यान जाने गरी वैशाखको भूकम्पपश्चात शिथिल नेपालको पर्यटन उद्योग तंग्रिन कम्तीमा एक वर्ष लाग्ने बताए।