मध्य सेप्टेम्बरपछि सीमा छिरे पक्राउ: हंगेरी

  • 11 सेप्टेम्बर 2015
migrant तस्वीर कपीराइट AP
Image caption राष्ट्रसंघीय निकायले आप्रवासीहरुप्रति मानवीय व्यवहार देखाउन अपील गरेको छ।

हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बानले मध्य सेप्टेम्बरपछि अवैध रुपमा आफ्नो मुलुक प्रवेश गर्न खोज्नेलाई पक्राउ गर्ने चेतावनी दिएका छन्।

संगै, आप्रवासीहरु राखिएको हंगेरीस्थित एउटा केन्द्रमा उनीहरुलाई अमानवीय व्यवहार गरिएको भन्ने विवरणहरुमा पनि प्रकाशमा आएका छन्।

अमानवीय

बुडापेस्टमा संवाददातासंग कुरा गर्दै गर्दा हंगेरीका प्रधानमन्त्री आप्रवासीहरुप्रति रुष्ट जस्तो देखिन्थे।

उनले आप्रवासीहरुले हंगेरीका सुरक्षा निकायविरुद्ध विद्रोह गरेको, रेलवे स्टेशन कब्जामा लिएको र विगत केही दिन दर्ता हुन नमानेको बताए।

यसैबीच हंगेरीस्थित आप्रवासीको एउटा केन्द्रमा उनीहरुमाथि अमानवीय व्यवहार भएको विवरणहरु प्रकाशमा आएका छन्।

आप्रवासीहरुलाई तारले बनाइएको खोरहरुमा राख्ने काम भएको सहायताकर्मीहरुले बताएका छन्।

यसअघि खाद्यन्न माग्दै कराउने आप्रवासीमाथि अधिकारीहरुले खानाको प्याकेटले हिर्काएको भिडियो सार्वजनिक भएपछि हंगेरीको प्रहरीले उक्त घटनाको छानविन भइरहेको जनाएको छ।

आलोचना

हंगेरीले आप्रवासीप्रति देखाएको व्यवहार ठीक नभएको भन्दै राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसीआरले उक्त मुलुकको कटु आलोचना गरेको छ।

युएनएचसीआरका एक जना प्रवक्ता विलियम स्पिड्लरले भने, “शरणार्थीहरु जो सुरक्षाको खोजीमा युरोप आइरहेका छन् उनीहरु पहिल्यै नै निकै प्रताडित भइसकेका छन् र यहां आउनलाई जोखिम मोलेका छन्। आफ्नो सुरक्षाको खोजीमा आउनेहरुलाई मानवीय व्यवहार गरिनुपर्छ”।

यसैबीच युरोपेली परिषद्का अध्यक्षले सदस्य मुलुकहरुले आप्रवासी संकट सम्बोधनका लागि तुरुन्त कदम नचाले इयुको आपतकालीन शिखर बैठक डाक्ने चेतावनी दिएका छन्।

आउंदो सोमबार इयुका आन्तरिक मामिला मन्त्रीहरुको बैठक हुन लागिरहेका बेला उनको त्यस्तो चेतावनी आएको हो।