राष्ट्रसंघ भवन अगाडि प्यालेस्टिनी झण्डा

  • 11 सेप्टेम्बर 2015
तस्वीर कपीराइट BBC World Service
Image caption सन् २०११ मा युनेस्कोमा प्रवेश पाएसँगै प्यालेस्टिनी झण्डा युनेस्को कार्यालय अगाडि फहराइएको थियो

इजरेलको विरोधबीच संयुक्त राष्ट्रसंघको भवन अगाडि प्यालेस्टिनी झण्डा फहराउन अनुमति दिनेसम्बन्धी एउटा संकल्प प्रस्तावलाई राष्ट्रसंघीय महासभाले भारी मतले अनुमोदन गरेको छ।

इजरेलले त्यसको विपक्षमा मतदान गर्न सदस्य राष्ट्रहरुलाई आग्रह गरेको थियो।

उक्त संकल्प प्रस्तावलाई एक सय १९ मुलुकले अनुमोदन गरेका छन्।

इजरेल र अमेरिकासहित आठवटा मुलुकले त्यसको विपक्षमा मतदान गरेका थिए।

‘आशाको झल्को’

संयुक्त राष्ट्रसंघका लागि प्यालेस्टिनी प्रतिनिधि रियाद मंसुरले प्यालेस्टाइनको हैसियत स्वीकार्ने ‘अर्को कदम’ भएको बताए।

उनले भने, “यो सांकेतिक हो तर निकै निराशाजनक र तनावको स्थितिमा बसिरहेका हाम्रा मानिसहरुलाई यसले आशाको झल्को दिएको छ।”

प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिइनुपर्ने माग बढिरहेका बेला पछिल्लो प्रस्ताव पारित भएको छ।

राष्ट्रसंघका थुप्रै सदस्य राष्ट्रहरुले त्यसप्रति समर्थन जनाउँदै आएका छन्।

प्यालेस्टाइनलाई राज्यको मान्यता दिंदै पहिलो पटक भ्याटिकनले गत मे महिनामा द्वीपक्षीय औपचारिक सम्झौता गरेको थियो।

तस्वीर कपीराइट AFP
Image caption प्यालेस्टिनी राष्ट्रपतिले महासभालाई संबोधन गर्ने मौका पारेर झण्डा राख्ने बताइएको छ

महासभाले पास गरेको संकल्प प्रस्तावले प्यालेस्टाइनको जस्तै अरु पर्यवेक्षकको हैसियत पाएको मुलुकको झण्डा राष्ट्रसंघका अन्य सदस्य राष्ट्रहरुसँगै फहराउन भनेको छ।

कार्यान्वयन

त्यसको अर्थ राष्ट्रसंघको भवन अगाडि अर्को पर्यवेक्षक भ्याटिकनको पनि झण्डा फहराइने छ।

संकल्प प्रस्ताव कार्यान्वयनका निम्ति २० दिनको समय दिइएको छ।

ब्रिटेन र युरोपियन युनियनका अन्य सदस्य राष्ट्रसहित ४५ वटा मुलुक मतदानमा सहभागी भएनन्।

संकल्प प्रस्तावको पक्षमा मतदान गर्नेमा फ्रान्स, स्वीडेन, इटली, स्पेन, आयरल्याण्ड र स्लोभेनिया लगायतका मुलुक छन।

सन् २०१२ मा राष्ट्रसंघीय महासभाले प्यालेस्टाइनलाई पर्यवेक्षक राष्ट्रको मान्यता दिंदै महासभाको बहसमा सहभागी हुन पाउने अधिकार दिएको थियो।