'भारतमा विष्फोटमा परी ८० को मृत्यु'

  • 12 सेप्टेम्बर 2015
विष्फोट
Image caption शनिबार बिहान स्कुले बालबालिका र कर्मचारीहरुले नाश्ता गरीरहेका बेला सो विष्फोट भएको थियो

भारतीय प्रहरीले मध्यप्रदेश राज्यमा एउटा रेष्टुरेण्टमा विष्फोट हुँदा कम्तीमा असी जनाको ज्यान गएको बताएका छन्।

एउटा व्यस्त बस स्टप नजीकै शनिबार बिहान नौ बजेतिर स्कुले बालबालिका र कर्मचारीहरुले नाश्ता गरीरहेका बेला सो विष्फोट भएको थियो।

प्रहरी सूत्रहरुले उक्त रेष्टुराँमा एउटा खाना पकाउने ग्याँस सिलिण्डर विष्फोट भएको र त्यसपछि नजीकै एउटा घरमा राखिएको विष्फोटक पदार्थको भण्डारमा आगो लगाएको जनाएका छन्।

मारिनेहरुमध्ये रेष्टुरेण्टका कर्मचारी, बालबालिका तथा कामदारहरु पनि भएको बताइएको छ।

विष्फोट

झाबुआ जिल्लाको पेटलावाद नगरमा सो विष्फोट भएको थियो।

कम्तीमा तीस जना अन्य घाइते भएको बताइएको छ।

हताहतिको संख्या अरु बढ्न सक्ने आशंका गरिएको छ।

झाबुआका एकजना वरिष्ठ अधिकारी अशोक जाधवले बीबीसीसंग भने, "बिहानको समयमा एउटा सानो विष्फोट भयो। मानिसहरु के भयो भनेर हेर्न जाँदा नजीकै अर्को ठूलो विष्फोट भयो। हामीहरुले घटनाको छानबीन गरिरहेका छौं र घाइतेहरुलाई रतलाम तथा झाबुआका अस्पतालहरुमा लगिएको छ।"

विष्फोटले गर्दा रेष्टुरेण्ट रहेको दुई तले भवन भत्किएको र छेउँछाउँका भवनहरुमा पनि क्षति पुगेका बताइएको छ।

उद्धार

शुरुमा मानिसहरुले खाली हातले भग्नावशेपमा चेपिएका मानिसहरुको उद्धार गर्न कोसिस गरेका थिए।

पछि एउटा बुलडोजर त्यहाँ पठाइएको थियो।

उक्त जिल्लामा थुप्रै खानीहरु रहेका र ती खानीका लागि विष्फोटक पदार्थहरु रेष्टुरेण्टसंगैको घरमा भण्डार गरिएको विभिन्न समाचारहरुमा जनाइएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सो घटनाप्रति दुख व्यक्त गरेका छन्।

यसैबीच मध्यप्रदेश राज्य सरकारले मृतकका परिवारहरुलाई जनही भारु दुई लाख तथा घाइतेहरुको उपचारकालागि जनही भारु पचास हजार दिने घोषणा गरेको छ।

भारतमा खाना पकाउने ग्याँस सिलिण्डर विष्फोटका घटनाहरु पटक पटक हुने गरेका छन्।

तर सिलिण्डर विष्फोटका कारण यति धेरै मानिसहरुको ज्यान गएको घटनाचाहिं विरलै मध्येको ठानिएको छ।