मक्काको मस्जिदमा क्रेन खस्दा १०७ को मृत्यु

  • 12 सेप्टेम्बर 2015
तस्वीर कपीराइट EPA
Image caption शुक्रवारको प्रार्थनाका बेला निर्माणको काममा प्रयोग हुने क्रेन खसेको थियो

मुसलमानहरुको प्रसिद्ध तीर्थस्थल साउदी अरेवियाको मक्कास्थित मस्जिदमा क्रेन खस्दा कम्तिमा १०७ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा धेरै घाइते भएका छन्।

निर्माण कार्यका निम्ति मस्जिदको बाहिर भागमा ठड्याइएका मध्ये रातो रंगको एउटा ठूलो क्रेन त्यहाँको प्रसिद्ध मस्जिदको एउटा भागमा खसेको थियो।

बीबीसीका एकजना सम्वादादाताका अनुसार मस्जिदमा सयौं मानिसहरुले शुक्रवारको प्रार्थना गरिरहेका बेला क्रेन खसेको हो।

इस्लामका पवित्र स्थानहरुले घेरिएको विश्वै ठूलो उक्त भव्य मस्जिदले हजका निम्ति वर्षेनी दशौं लाख मुस्लिम तीर्थालुहरुलाई आकर्षित गर्दछ।

कहाली लाग्दो

एउटा पुष्टि हुन बाँकी भिडिओमा क्रेन खस्दाको दृष्य कैद गरिएको छ, जसमा क्रेन खस्दाको भयानक आवाज र चिच्याहट सुनिन्छ।

अनगिन्ति शव र मस्जिदका भागहरु रगतले तलपतिएका तस्विरहरु ट्वीटरमा राखिएका छन्।

साउदी अरेवियाका सिभिल डिफेन्स डिपार्टमेन्टका प्रमुख सुलेमान विन अब्दुल्लाहले भारी वर्षासँगै ८३ किलोमिटर प्रतिघण्टाको वेगमा हुरी चलिरहेका बेला उक्त दुर्घटना भएको बताए।

घटनाको बेलाको दृष्यबारे एकजना प्रत्यक्षदर्शीले भने, "असाध्यै अँध्यारो भयो, मस्जिद क्षेत्रमा समुद्री आँधी आएजस्तो, सबै दिशातिरबाट भीषण रुपमा पानी दर्कियो, हावा पनि उस्तै थियो।"

मक्कामा हरेक वर्ष गरिने हज-यात्राका क्रममा विश्वभरबाट त्यहाँ पुग्ने लाखौं मुसलमानहरुलाई स्वागतको तयारी भइरहेको थियो।

तस्वीर कपीराइट Reuters
Image caption एक पटकमा २२ लाख मानिस अटाउन सक्ने गरी मस्जिदको क्षेत्र विस्तार गरिँदै थियो

हज सुरु हुन १० दिन बाँकी छँदा अहिलेसम्म साउदी अरेवियाको राजधानीमा दश लाख मानिसहरु पुगिसकेको बताइएको छ।

इस्लाम धर्मका अनुसार क्षमता भएकाहरुले आफ्नो जीवनमा कम्तिमा एकपटक हजयात्रा गर्नै पर्ने हुन्छ।

तयारी

अधिकारीहरुले एक पटकमा २२ लाख मानिसहरु अँटाउन सक्ने गरी गत वर्षदेखि मस्जिदको क्षेत्र विस्तार गर्न थालेका थिए।

सन् २०१२ मा ३० लाख मानिसहरुले हजयात्रा गरेका थिए।

सन् २०१३ देखि अधिकारीहरुले सहभागि हुनेहरुको संख्या सीमित गराउन थालेका थिए।

ठूलो संख्यामा मानिसहरु सहभागी हुनाले कयौं वर्ष दुखद् घट्नाहरु हुने गरेका छन्।

सन् २००६ मा भएको भागदौडमा करिव ३५० जनाको ज्यान गएको थियो।