संविधानका बाँकी धारामाथि आज मतदान हुने

  • 14 सेप्टेम्बर 2015
Image caption नेपाली कांग्रेस र एकीकृत माओवादीका सबै सभासद्हरुले संशोधन प्रस्ताव फिर्ता लिएका थिए

संविधान निर्माणमा निकै महत्वपूर्ण ठानिएको चरणअन्तर्गत संविधानसभामा सोमबार पारित गर्न संविधान विधेयकका बाँकी धाराहरुमाथि मतदान हुँदैछ।

आइतबार तीनवटा धारा पारित गरेको संविधानसभाले चारदेखिका धाराहरुमाथि मतदान गर्ने आजको कार्यसूची रहेको अधिकारीहरुले बताएका छन्।

ढिलोमा आगामी आइतबारसम्ममा नयाँ संविधान सार्वजनिक गर्ने लक्ष्य लिइएको संविधानसभाका एकजना अधिकारीले बताए।

संविधानको परिमार्जित विधेयकमा परेका संशोधन प्रस्तावमाथिको दफावार छलफल सकिएपछि संविधानसभाले नयाँ संविधानका धाराहरुमाथि आइतबार मतदान प्रक्रिया सुरु गरेको थियो।

पारित

संविधानसभा बैठकले आइतबार सुरुका तीनवटा धारा पारित गरेको हो।

परिमार्जित विधेयकमा तीन सय दुई धारा छन् र ती प्रत्येक धारासंगै प्रस्तावना र नाम, संविधानको अंग हुन उपस्थित सदस्य संख्याको दुई तिहाइले अनुमोदन गर्नुपर्नेछ।

संविधानसभा सचिवालयका सहायकप्रवक्ता सुदर्शन कुइँकेलले भने, “सम्पूर्ण धाराहरु पारित भईसकेपछि एकमुष्ट रुपमा संविधानको विधेयक पारिन गर्नका निम्ति सभामा प्रस्तुत गरिनेछ, उक्त विधेयकलाई सम्पूर्ण सदस्य संख्याको दुई तिहाईले पारित गर्नुपर्ने हुन्छ।”

तर पछि केही आयोगहरु थपिएकाले धाराहरुको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन्।

संशोधन

सोमबार ११ बजेका लागि बोलाइएको बैठकमा बाँकी रहेका धाराहरुमा मतदानअघि संशोधन हालेका सभासद्हरुलाई संविधानसभाका अध्यक्षले पहिले आफ्ना प्रस्ताव फिर्ता लिन मौका दिनेछन्।

मतदानका यी सबै प्रक्रियाहरु पूरा गरी आनुसांगिक अर्थात शुद्धाशुद्धि पनि हेर्नुपर्ने भएकोले संविधान जारी गर्न आइतबारसम्म लाग्न सक्ने अधिकारीहरु बताउँछन्।

संविधानसभाका कानुनी सल्लाहकार रवि अर्याल शर्मा भन्छन्, “थप जस्तो आनुसांगिक संशोधनका कुराहरु छन्, यो सकिएपछि आनुसांगिक रुपमा के के छन भन्ने हेर्नुपर्ने हुन्छ, त्यसपछि प्रमाणीकरणका प्रक्रिया यताउति गर्दाखेरी हाम्रो लक्ष्य ढिलोमा ३ गतेसम्म संविधान जारी गर्न सकिन्छ कि भन्ने छ।”

आन्दोलनरत तराई केन्द्रित दलका नेताहरुले चाहिं आफूहरु सामेल नभएको प्रक्रियाबाट जारी हुने संविधान नमान्ने चेतावनी दिएका छन्।