अष्ट्रेलियामा नयाँ प्रधानमन्त्री

  • 14 सेप्टेम्बर 2015
तस्वीर कपीराइट
Image caption सोमबार लिबरल पार्टीका सांसदहरुको बैठकमा पार्टीको नयाँ नेता चुन्न मतदान भएको थियो

अष्ट्रेलियामा प्रधानमन्त्री टोनी एबटलाई सत्ताधारी लिबरल पार्टीको प्रमुख पदबाट हटाइएको छ।

पार्टीका नयां नेता मालकम टर्नबुल अब देशका नयां प्रधानमन्त्री बन्ने छन्।

पार्टीको नयाँ नेता चुन्न हतार हतारमा आयोजित मतदानमा टोनी एबट पराजित भएका हुन्।

टोनी एबटले अष्ट्रेलियाका गभर्नर जेनरललाई पत्र लेखी आफ्नो राजीनामा बुझाएपछि नयां प्रधानमन्त्रीका रुपमा मालकम टर्नबुलले पदभार ग्रहण गर्ने छन्।

मतदान

उनी सन् २०१३ पछि अष्ट्रेलियाका चौथौ प्रधानमन्त्री हुनेछन्।

टर्नबुलले, नयां आम निर्वाचन नहुने संकेत गर्दै देशको हालको संसदले आफ्नो पूर्ण कार्यकाल पूरा गर्ने बताए।

पार्टीको उप नेताका रुपमा विदेशमन्त्री जुली विशप नै कायम रहने गरी पनि मतदान भएको छ।

मतदान पछि बोल्दै माल्कम टर्नबुलले आफ्ना पूर्ववर्तीले प्रधानमन्त्रीका रुपमा हासिल गरेका उपलब्धिहरुको प्रशंसा गरेका थिए।

प्रशंसा

सोमबार नै केही अघि बोल्दै उनले टोनी एबट नेता कायमै रहेमा अष्ट्रेलियाको सत्ताधारी गठबन्धनले आगामी निर्वाचनमा पराजय भोग्ने बताएका थिए।

बीबीसीकी वेन्डी फ्र्यू आफ्नो विश्लेषणमा भन्छिन्, "माल्कम टर्नबुल संधै नै शक्तिको स्रोतको नजीक रहंदै आएका छन्। अब आएर उनी देशको सबैभन्दा सर्वोच्च ओहोदामा पुगेका छन्, जुन पदमा पुग्न उनले आफू राजनीतिमा प्रवेश गर्दा देखि नै सपना देखेका हुन सक्छन्।"

तर त्यसको मतलब अब उनको कार्यकाल पनि सहज र सरल हुन्छ नै भन्ने चाहिं होइन।

माल्कम टर्नबुलका धारणाहरु उनका गठबन्धन सहयात्रीहरुसंग मेल खांदैनन्, विशेषगरी जलवायु परिवर्तन, समलिंगी विवाह र अष्ट्रेलियालाई गणतन्त्र बनाउनु पर्छ भन्ने विषयहरुमा।