शरणार्थी संकट: जर्मनीको सीमामा थप कडाइ

  • 14 सेप्टेम्बर 2015
तस्वीर कपीराइट Reuters
Image caption बढ्दो शरणार्थी संकटका माझ युरोपमा शरणार्थीको समर्थनमा आवाज उठिरहेका छन्

आप्रबासीहरुको घुँइचो बढीरहेको बेला जर्मनी र उसका छिमेकी देशहरुले आफ्ना सीमामा आवतजावतमा थप कडाइ गर्ने भएका छन्।

जर्मनीका गृहमन्त्री टोमास डे मजयेरले सीमामा गरिने कडाइ अस्थायी प्रकृतीको हुने बताए।

उनले शरणार्थीहरुले आफ्नो गन्तब्य मुलुक छान्न नसकिरहेको बताउँदै अन्य युरोपेली मुलुकहरुलाई पनि त्यसबारे थप कदम चाल्न आग्रह गरे।

निर्देशन

शनिबार जर्मनीको म्युनिखमा १३ हजार शरणार्थी आएपछि जर्मनीका उप-चान्सलरले त्यो संख्या आफ्नो क्षमताले धान्न सक्ने भन्दा बढी भएको बताए।

जर्मनीले यो वर्ष करिब आठ लाख शरणार्थीहरु युरोप पुग्ने अनुमान गरेको छ।

जर्मनीका अधिकारीहरुले अष्ट्रियासंगको सीमामा परिचयपत्रको परिक्षणमा कडाइ गर्न निर्देशन दिइसकेको छ।

जर्मनी जस्तै अष्ट्रिया र चेक गणतन्त्रले पनि सीमा क्षेत्रहरुमा कडाइ गर्ने भएका छन्।

अष्ट्रिया र जर्मनीबीचका रेलसेवा बाह्र घन्टाका लागि बन्द गरिएका छन्।

सहमति विपरीत

आप्रबासीहरुको लागि वैकल्पिक बाटो रहेको चेक गणतन्त्रले अष्ट्रियासँगको सीमामा थप कडाइहरु गर्ने बताएको छ।

पछिल्ला कदमहरु युरोपभित्र खुल्ला आवतजावत गर्न दिने शेन्गेन क्षेत्रको सिद्धान्त विपरीत छन्।

शेन्गेन सहमति अनुसार अस्थायी रुपमा सीमा प्रवेशमा रोकतोक गर्न मिल्दैन।

बर्लिनस्थित बीबीसीका डेमियन मकगिनिस भन्छन्, "जर्मनीका गृहमन्त्रीको कदम राजनीतिक रुपले निकै चलाखीपुर्वक लिइएको छ। उनको कदमले अन्य युरोपेली देशलाई पनि ठोस कदम चाल्न प्रोत्साहित गर्न सक्छ। त्यसले जर्मनीले सामना गरिरहेको संकट पनि प्रष्ट पार्दछ।"