आप्रवासीद्वारा क्रोएशियामा प्रहरी घेरा पार

  • 17 सेप्टेम्बर 2015
तस्वीर कपीराइट
Image caption आप्रवासीले प्रहरी घेरा तोडेर अघि बढ्दा महिला तथा बालबालिकामाथि थिचोमिचो भएको थियो

क्रोएशियाले, हंगेरी भएर अघि बढ्ने मार्ग बन्द गरिएपछि सो देशमा ओइरो लागेका हजारौं आप्रवासीहरुका लागि उपलब्ध स्रोत तथा साधन सिमित भएको भन्दै सावधान गराएको छ।

क्रोएशियाका प्रधानमन्त्री जोरान मिलानोभिचले भनेका छन् उनको देशले आप्रवासीहरुलाई स्वागत गर्दछ तर तिनीहरुको ठूलो संख्याका कारण उपलब्ध स्रोत तथा साधनमाथि ठूलो दबाब परेको छ।

गत २४ घण्टामा ६ हजारजना जति आप्रवासीहरुले क्रोएशिया प्रवेश गरेका छन्।

छिमेकको सर्वियाबाट प्रवेश गरिरहेका आप्रवासीहरुको भिडले क्रोएशियाको सिमावर्ती नगर टोभार्नीकस्थित प्रहरी घेरा तोडेका छन्।

प्रयास

सिमा क्षेत्रबाट अगाडि बढ्नका लागि चर्को गर्मीमा घण्टौं सवारी साधनको प्रतिक्षा सयौं आक्रोशित मानिसहरुलाई रोक्ने प्रयास प्रहरीले गरेको थियो।

त्यहाँ रहेका आप्रवासीहरुले हामीलाई अघि बढ्न देउ भन्दै नाराबाजी गरेका थिए।

संवाददाताहरु भन्छन्, बालबालिका र कमजोर मानिसहरुलाई अघि बढ्न प्रहरीले मद्दत गरेका छन्।

खानेकुरा र पीउने पानी कम हुंदै गएको छ र मानिसहरु निकै थकित छन्।

स्थिति

बुधबार विहान हंगेरीले सर्वियासंगको आफ्नो सिमा बन्द गरे पछि, क्रोएशियामा कम्तीमा छ हजारजना आप्रवासीहरु प्रवेश गरिसकेका छन्।

क्रोएशियाका अधिकारीहरुले ति आप्रवासीहरुले त्यहां शरणार्थीका रुपमा आवेदन दिनुपर्ने अन्यथा तिनीहरुलाई गैरकानूनी आप्रवासीका रुपमा व्यवहार गरिने बताएका छन्।

क्रोएशियाका प्रधानमन्त्रीले देशका साधन स्रोतमा ठूलो दबाब परिरहेको भनी सावधान गराइसकेका छन्।

छिमेकको स्लोभिनीयाले पनि साझा युरोपेली समाधान फेला नपरुन्जेल आफ्नो सिमा सुरक्षा व्यवस्थामा कडाइ गरिने घोषणा गरेको छ।

जर्मनीले पनि आफूकहां प्रवेश गरिरहेका आप्रवासीहरुको संख्यामा ठूलो वृद्धि भैरहेको बताएको छ।

आप्रवासीहरुको यो समस्या समाधान गर्न युरोपेली संघका नेताहरुले आगामी हप्ता आपतकालीन शिखर बैठक गर्दैछन्।