नयाँ संविधान प्रमाणीकरणको तयारी

  • 18 सेप्टेम्बर 2015
संविधान
Image caption अत्याधिक बहुमतले पारित नयाँ संविधानप्रति तराई केन्द्रित दलहरुको चर्को असन्तुष्टि छ

आइतवार जारी गरिने नयाँ संविधानमा सभासदहरुले हस्ताक्षर गरेपछि शुक्रबारै त्यसलाई संविधानसभाका अध्यक्षले प्रमाणीकरण गर्ने अधिकारीहरुले बताएका छन्।

दुईपटक संविधानसभा निर्वाचन गराएपछि आउन लागेको नयाँ संविधानका पाँच प्रतिमा सभासदहरुले शुक्रबार हस्ताक्षर गर्ने कार्यक्रम छ। ‍

दुई-तिहाइ बहुमतले पारित गरेको नयाँ संविधान विधेयकका धाराहरुका भएका सामान्य त्रुटीहरु सच्याउनका गठन गरिएको अनुसांगिक समितिले प्राविधिक त्रुटीहरु मिलाएपछि नेपाली कागजमा नयाँ संविधानका पाँच प्रति अभिलेखका निम्ति छाप्ने व्यवस्था छ।

हस्ताक्षर

ती सबै प्रतिहरुमा शुक्रबार सभासदहरुले हस्ताक्षर गर्ने कार्यक्रम संविधान जारी हुनु अगाडि जननिर्वाचित प्रतिनिधिले संविधानसभामा गर्ने अन्तिम कामा समेत हुनेछ।

हस्ताक्षर गर्न निम्ति शुक्रबार विहान ९ बजे देखि ३ बजेसम्मको समय छुट्याइएको संविधानसभा सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए।

उनले भने, “सभासदहरुले गरेको हस्ताक्षर सभामुखले प्रमाणीकरण गरेपछि त्यो विधेयक संविधान बन्नेछ। अनि त्यसलाई असोज ३ गते राष्ट्रपतिज्युबाट संविधान प्रारम्भ भएको घोषणा हुने कार्यक्रम छ।”

उक्त विधेयकमा कुनै सभासदहरुले हस्ताक्षर नगरेमा पनि नियमानुसार फरक नपर्ने पनि प्रवक्ता गौतमले बताए।

‘प्रारम्भ’

सभामुखले प्रमाणिकरण गरेको संविधानको दस्तावेजलाई आइतवार सांझ हुने औपचारिक कार्यक्रममा राष्ट्रपतिले हस्ताक्षर गरेपछि संविधान प्रारम्भ हुने प्रावधान छ।

आइतबार साँझ ५ बजेलाई बोलाइएको समारोहमा राष्ट्रपतिको कुनै औपचारिक सम्बोधनको कार्यक्रम नरहेको पनि संविधानसभा सचिवालयले जनाएको छ।

प्रवक्ता भरतराज गौतमले भने, “अनुसूची ७ मा छुट्टै ब्यवस्था छ। उहाँ (राष्ट्रपति) ले संविधानसभाबाट पारित भएको र संविधानसभाका अध्यक्षबाट प्रमाणीकरण भएको नेपालको संविधान ३ गतेबाट प्रारम्भ भएको नेपाली जनता समक्ष घोषणा गर्दछु भन्ने एउटा ढाँचा छ। त्यसमा हस्ताक्षर गर्नुहुनेछ र उहाँको कार्यालयको छाप रहन्छ।”

सार्वजनिक घोषणा गरी जारी गर्न लागेको संविधानसभाको समापन समारोहमा सभामुख सुवास नेम्वाङले धन्यवाद मन्तव्य दिने कार्यक्रम रहेको जनाइएको छ।