विशेष समारोहबीच संविधान जारी हुने

  • 20 सेप्टेम्बर 2015
Image caption आइतबारको समारोहका लागि संविधानसभालाई विशेष रुपमा सजाइएको अधिकारीहरुले बताएका छन।

राष्ट्राध्यक्षको हैसियतमा राष्ट्रपति रामवरण यादवले एक विशेष समारोहबीच आइतबार नयाँ संविधान जारी गर्दैछन्।

यसअघि राष्ट्रपतिले संविधान जारी मात्र गर्ने बताइएपनि प्रमुख तीन दलबीचको सहमति अनुसार अब उनले संबोधन पनि गर्ने एकजना अधिकारीले बताए।

नयाँ संविधान जारी गरिएको खुसियाली मनाउन सरकारले आइतबार र सोमबार सार्वजनिक विदा दिएको छ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार संविधानसभा भवनमा आइतबार अपरान्ह ५ बजे आयोजना गरिने विशेष समारोहबीच राष्ट्रपति यादवले नेपालको संविधान २०७२ जारी भएको घोषणा गर्नेछन।

सपना

योसँगै संविधानसभामार्फत संविधान जारी गर्ने नेपालीहरुको दशकौंदेखिको सपना पूरा हुनेछ।

यसअघि राष्ट्राध्यक्षको हैसियतमा राष्ट्रपतिले अनुसूचीमा रहेका शब्द पढेर संविधान जारी गर्ने कार्यक्रम थियो।

तर त्यसको चौतर्फी आलोचना भएपछि प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरुबीच शनिबार भएको सहमति अनुसार राष्ट्रपतिले संविधान जारी गरेपछि संबोधन पनि गर्ने संविधानसभा सचिवालयले जनाएको छ।

सचिवालयका सह प्रवक्ता सुदर्शन कुइँकेलले भने, “नेपाल सरकारले केही कुराहरुमा उहाँले देशवासीका नाममा लगायत संविधान जारी भएको अवसरमा केही घोषणा गर्ने भन्ने राखेको छ भनी मैले बुझेको छु, त्यहीं अनुसार व्यवस्था मिलाइएको छ।”

अधिकारीहरुका अनुसार संविधान जारी गरिने समारोहलाई मध्यनजर गर्दै राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

आमन्त्रण

उक्त समारोहमा सरकारका उच्च पदस्थ अधिकारीसहित विदेशी कूटनीतिज्ञहरुको सहभागिता रहने बताइएको छ।

त्यसबारे जानकारी गराउँदै सहप्रवक्ता कुइँकेलले थपे, “राष्ट्रपतिज्यू उपस्थित हुनुहुनेभएको कारण उपराष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू सरकार प्रमुखको नाताले भईहाल्नुभयो, त्यसपछि हामीले प्रधानन्यायाधीशलाई पनि आमन्त्रण गरेका छौँ, त्यस्तै कूटनीतिक नियोगका प्रमुख, विशिष्ट कूटनीतिज्ञ लगायतका व्यक्तिहरुलाई हामीले आमन्त्रण गरेका छौँ।”

नयाँ संविधानमा कूल ५ सय ९८ सभासद्हरुमध्ये ५ सय ३७ जनाले मात्र हस्ताक्षर गरेकोमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्गले असन्तुष्ट दलका सभासद्हरुलाई पनि हस्ताक्षर गर्न आग्रह गरेका छन।

हस्ताक्षर गर्ने समयावधि शुक्रबार ३ बजे सकिएपनि उनीहरुलाई आइतबार दिउँसो ४ बजेसम्मको समय दिइएको छ।

नेपाली कांग्रेस र नेकपा एमालेले संविधान जारी भएको खुसियालीमा दिपावली मनाउन आह्वान गरेपनि आन्दोलनरत तराई केन्द्रित दलहरुले विरोधस्वरुप आज साँझ ब्ल्याक आउट अर्थात बत्ती निभाउने बताएका छन।