राष्ट्रपतिद्वारा संविधान जारी भएको घोषणा

  • 20 सेप्टेम्बर 2015
Image caption संविधान जारी हुने दिन संविधानसभा भवन परिसरमा निकै ठूलो चहलपहल देखिन्थ्यो

राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरेका छन्।

संविधानसभा भवनमा आयोजित एक विशेष समारोहबीच यादवले नयाँ संविधान जारी गरेसँगै अन्तरिम संविधान २०६३ निष्क्रिय भएको छ।

त्यसअघि नयाँ संविधानका पाँचवटा प्रतिलाई ढोग्दै राष्ट्रपति यादवले त्यसमा हस्ताक्षर गरेका थिए।

राष्ट्रपतिले नयाँ संविधान जारी गरेको घोषणा गरेपछि निकैबेरसम्म संविधानसभा हल तालीको गहगडाहटले गुञ्जयमान भएको थियो।

संबोधन

संविधान जारी गरेपछि सभाध्यक्ष सुवास नेम्वाङ्गले राष्ट्रपतिलाई देशवासीको नाममा संबोधन गर्न निम्त्याएका थिए।

देशवासीलाई संबोधन गर्दै राष्ट्रपति यादवले नयाँ संविधान प्रप्त गरेकोमा सबै जनतालाई बधाई दिए।

उनले नयाँ संविधान जारी भएसँगै संघीयता र लोकतन्त्र संस्थागत भएको बताए।

राष्ट्रपतिको संबोधनपछि उनीप्रति धन्यवाद ज्ञापन गर्ने प्रस्ताव संविधानसभाले पारित गरेको थियो।

अनुमोदन

यसअघि मन्त्रिपरिषद्को विहान बसेको बैठकले संविधान जारी गरेपछि राष्ट्रपतिले गर्ने संबोधनको व्यहोरा अनुमोदन गरेको थियो।

संविधान जारी गर्ने समारोहमा काठमाण्डूस्थित विदेशी नियोगका प्रमुख, वरिष्ठ कुटनीतिज्ञ, सरकारका उच्चपदस्थ अधिकारी र सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो।

नयाँ संविधानको नाम नेपालको संविधान २०७२ रहेको छ, जसमा जम्मा धारा ३ सय ८ धारा छन।

त्यसैगरी संविधानमा ३५ भाग र ९ वटा अनुसूची छन।