सर्वोच्च इशाई गुरु पोप क्युबाको पहिलो भ्रमणमा

  • 20 सेप्टेम्बर 2015
तस्वीर कपीराइट AP
Image caption पोप फ्रान्सिस क्युबाको भ्रमण गर्ने तेश्रो पोप हुन् र यो उनको आफ्नो पहिलो भ्रमण हो

आफ्नो पहिलो क्युबा भ्रमणका क्रममा राजधानी हवानामा पुगेका सर्वोच्च इशाई गुरु पोप फ्रान्सिसलाई राष्ट्रपति राउल क्याष्ट्रोले विमानस्थलमा स्वागत गरेका छन्।

सडकमा लामबद्ध हजारौं मानिसहरुले पनि कर्तल ध्वनिकासाथ उनको स्वागत गरेका थिए।

विमानस्थलमा पोपको स्वागत गरेपछि राष्ट्रपति क्याष्ट्रोले गरिबी र वातावरणीय परिवर्तनका मुद्दामा पोपले देखाएको नेतृत्वको प्रसंशा गरे।

उनले वासिङ्गटनसंग लामो समयसम्म चिसिएको कुटनीतिक सम्बन्ध पुनस्थापनामा निर्वाह गरेको भूमिकाको निम्ति पोपलाई धन्यवाद पनि दिए।

उदाहरणीय

जवाफमा पोपले अमेरिका र क्युबाबीचको सम्बन्धमा आएको सुधार उदाहरणीय भन्दै त्यसको प्रशंसा गरे।

उनले भने, “यो संवादको जितको उदाहरण हो, तेश्रो विश्वयुद्धको माहौलमा विश्वलाई मेलमिलाप चाहिएको छ, सारा विश्वका लागि मेलमिलापको उदाहरण हो।”

त्यसमा दृढ रहन क्युबाका नेताहरुलाई उनले आग्रह समेत गरे।

क्युबाका जनताको आशा र सरोकारप्रति समर्थन जनाउन र त्यसलाई प्रोत्साहित गर्न आफू क्युबा भ्रमणमा रहेको उनले बताए।

भ्याटिकले बिहिबार आशा गरेको थियो कि ‘पोपको भ्रमणले ५३ वर्ष लामो अमेरिकी प्रतिबन्ध अन्त्य गर्न र उक्त कम्युनिष्ट टापुलाई थप स्वतन्त्रता र मानव अधिकारतर्फ अग्रसर हुन सघाउने छ।’

तयारी

तस्वीर कपीराइट Getty

पोप फ्रान्सिसको भ्रमणअघि राजधानी हवानाका सडकहरु पुनर्निमार्ण गरिएका थिए भने गिर्जाघरहरु र विमानस्थलको मर्मतसम्भार गरिएको थियो।

पोप जोन पोल द्वीतीय क्युबाको भ्रमण गर्ने पहिलो पोप हुन।

सन् १९९८ मा गरेको भ्रमणका क्रममा उनले भनेका थिए, “क्युबाले सारा विश्वकानिम्ति आफूलाई उघार्न सकोस र विश्व क्युबाका निम्ति खुल्न सकोस।”

उनका उत्तराधिकारी पोप बेनेडिक्ट सोह्रौंले पनि सन् २०१२ मा क्युबाको भ्रमण गरेका थिए।

क्युबाको आफ्नो पहिलो भ्रमणका क्रममा चार दिन त्यहाँ बिताएर पोप अमेरिका जानेछन् र पोपको रुपमा उनको त्यो पहिलो अमेरिका भ्रमण हुनेछ।