ग्रीसमा सिरिजा पार्टी पुन: विजयी

  • 21 सेप्टेम्बर 2015
तस्वीर कपीराइट AP
Image caption एउटा अलोकप्रिय ऋण सम्झौतामा सिप्रासले हस्ताक्षर गरेपछि आकस्मिक चुनाव गरिएको थियो

ग्रीसमा यस वर्ष भएको दोश्रो आम चुनावमा वामपन्थी दल सिरिजा पार्टी फेरि विजयी भएको छ।

उक्त दलका नेता एलेक्सीस सीप्रासले जनताको जित भएको टिप्पणी गरेका छन्।

अधिकांश मतगणना भइसक्दा उक्त दल थोरैले बहुमतभन्दा टाढा रहने देखिएको छ।

गठबन्धन

तर पूर्व सरकारको साझेदार दक्षिणपन्थी इन्डिपेण्डेन्ट ग्रीक्स् पार्टी गठबन्धनमा सहभागी हुन तयार भइसकेको छ।

सीप्रासले पनि उसँग मिलेर सरकार बनाउने घोषणा गरिसकेका छन्।

आर्थिक संकट टार्न अन्तर्राष्ट्रिय ऋणदाताहरुसँगको एउटा अलोकप्रिय सहमतिमा सीप्रासले हस्ताक्षर गरेपछि आकस्मिक रुपमा छ वर्षभित्र पाँचौं चुनाव गराइएको थियो।

सिप्रासले एथेन्समा आफ्ना हजारौं हर्षित समर्थकहरुमाझ बोल्दै भने, “मत परिणामबाट अब ग्रीसलाई अघि बढाउन पार्टीलाई स्पष्ट अनुमति प्राप्त भएको छ।”

सम्भव

उनले ‘प्रतिरोध र प्रतिष्ठाकानिम्ति ग्रीस र ग्रीक जनता एक अर्काका पर्याय’ भएको बताउँदै आउँदा चार वर्षमा सँगसँगै आफ्नो संघर्ष जारी राख्ने बताए।

सीप्रासले भने, “जादुगरी ढंगले हामीले सुधार गर्न सक्ने छैनौं तर कडा श्रमले त्यो सम्भव हुनेछ।”

न्यु डेमोक्रेसी पार्टीले यसअघि नै हार स्वीकार गरिसकेको छ।

मितव्ययिता विरोधी नयाँ दल पपुलर युनिटी पार्टीले कुनै स्थानमा विजय हासिल गर्ने सम्भावना छैन।