ट्विटरमा भारतको चर्को आलोचना

  • 22 सेप्टेम्बर 2015
तस्वीर कपीराइट PMO India
Image caption नयाँ संविधानबारेको भारतीय दृष्टिकोणप्रति सामाजिक संञ्जालमा आलोचना भइरहेको छ

नेपालको नयाँ संविधानका बारेमा भारतले व्यक्त गरेको चीसो प्रतिक्रियाप्रति सामाजिक सञ्जाल ट्विटरमा चर्को आलोचना भइरहेको छ।

संविधानलाई भारतले स्वागत नगरेको र सीमा क्षेत्रमा भइरहेका आन्दोलनका बारेमा व्यक्त गरेको धारणापछि ‘ब्याक अफ इण्डिया’ अर्थात ‘पछि हट भारत’ भन्ने ह्यासट्याग गरिएका विचार ट्विटरमा विश्वव्यापी ट्रेन्डिङ्ग भइरहेको छ।

मंङ्गलबार दिउँसो ५ बजेसम्म झण्डै १ लाख ७८ हजार वटा #BackOffIndia उल्लेख भएका ट्विट भएको देखिएको छ।

सोमबार भारतीय विदेश मन्त्रालयले तराईमा जारी आन्दोलन सम्बोधन नगरी संविधान जारी गरिएकाले उक्त क्षेत्रमा हिंसा भइरहेको र त्यसले नेपालमा ढुवानी गर्न भारतका आपूर्तिकर्तालाई सुरक्षा चिन्ता थपेको बताएको थियो।

आक्रोश

ट्विटर प्रयोगकर्ताहरुले संविधान निर्माण नेपालको सार्वभौम निर्णय भएको भन्दै त्यसमा भारतको हस्तक्षेप अमान्य हुने खालका धारणा राखेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेतलाई उल्लेख गर्दै कतिपयले नेपालमाथि छुच्चो छिमेकीको जस्तो व्यवहार नगर्न भनेका छन्।

किरण पौडेल @KeeranPoudel ले ट्विटमा लेखेका छन्, “नेपालको संविधानसभाका ९० प्रतिशतले जारी गरेको संविधानको विरोध ६७ प्रतिशत सभासद्को समर्थनमा संविधान बनाएको भारतले गरिरहेको छ।#BackOffIndia”

त्यसैगरी सुर्यराज आचार्य @SRA525 ले भनेका छन्, “भारतको सुक्ष्म व्यवस्थापनको नीति बदल्न एक पटक आँखा जुधाउन जरुरी थियो। नेताहरुले ठीक समयमा यो काम गरे। भारत मैत्री भने भइरहौँ।#BackOffIndia”

ट्विटरप्रयोगकर्ताहरुले आफ्ना धारणा भारतविरुद्ध नभई भारतको हस्तक्षेपको विरोधमा भएको उल्लेख गरेका छन्।

त्यस्तै धारणातर्फ संकेत गर्दै लेनिन बन्जाडे @lendaai ले लेखेका छन्, “कुटनीति भनेको कुटिराख्ने नीति होईन डियर मोदी! तिम्रो नेतृत्वलाई यो नेपालीको उपहार हो।#BackOffIndia”

सरस्वती सुब्बा @SarswatiSubba ले भनेकी छन्, “इलाम र बंगालका लिम्बुमध्ये कसलाई धेरै अधिकार छ? बारा र बिहारका यादवमध्ये कसलाई धेरै अधिकार छ, नेपालको उदारता बुझौँ। #BackOffIndia”

मुना थापा मगरले @MunaThapa को धारणा छ, “नेपालीको यो आक्रोश भारतीय जनताविरुद्ध होईन! यो त भारतीय सरकारको विस्तारबादी नियत र हस्तक्षेपकारी नीतिविरुद्ध हो। #BackOffIndia”

निर्भरता

भूपरिवेष्ठित देश नेपाल भारतमा निर्भर हुनु बाध्यता भएको र त्यसलाई प्रयोग गरी भारतले तर्साउन खोजेको भन्दै ट्विटरमा आलोचना गरिएको छ।

जुगल भुर्तेल @JugalBhurtel लेख्छन्, “भीमकाय देशको तुच्छ-तेल राजनीति! युक्रेनको दु:खको ठूलो कारण रुसको तेल हो। सधैँ नेपाललाई तर्साउने भारतको हतियारपनि त्यही तेल! #BackOffIndia”

विशाल प्यारेले @Being_a_Nepali को धारणा छ, “हामी तराईमा हिंड्न मात्र होईन हिमालमा दौडन जानेका नेपाली हौँ। हिंड्ने बाटो बन्द भए हामी दौडने बाटो खोल्नेछौ। #BackOffIndia”

त्यस्तै साराम्स पाण्डे @PandeySarams ले भनेका छन्, “बरु भारतको नुन नखाउँला, सिस्नु खाएर बाचौँला, भारतबाट आयात गरेको मोटरसाइकल, कार छाडेर बरु पैदल हिँडौला तर भारतीय हस्तक्षेप सहिदैन। #BackOffIndia”

२०४५ सालमा भारतले नेपालविरुद्ध नाकाबन्दी लगाएको प्रंसग कोट्याउँदै प्रकाश @prakashsamir1 लेख्छन्, “यो ४५ साल होइन् ७२ साल हो ठूल्दाई! सित्तैमा दिने हैनौ, किनेरै खाने भएपछि दक्षिणको पसल बन्द भए उत्तरको पसलतिर लागिन्छ ! #BackOffIndia”

पाकिस्तानबाट समेत भारतविरुद्ध आक्रोश व्यक्त भएका ट्विटलाई समर्थन गरिएपछि #BackOffIndia त्यहाँ पनि धेरै चल्तीको ट्रेन्ड भएको छ।

ट्विटरमा भइरहेको भारतको आलोचनाको बचाउ गर्दै पत्रकार प्रशान्त झा @prashantktm ले लेखेका छन्, “पछि हट भारत भन्ने वाहियात धारणा राख्नुअघि मधेशिलाइ मार्न बन्द गरियोस् भन्ने ह्यासट्याग गरेको भए म सम्मान गर्ने थिएँ। पहिले घरभित्रको असन्तोष समाधान गर त्यसपछि भारत आफैं असान्दर्भिक हुनेछ।”

नेपालमा भारतले आर्थिक नाकाबन्दी लगाउन लागेको भनी व्यापक चर्चा चलेपछि बीबीसी हिन्दीलाई भारतीय विदेश मन्त्रालयका प्रवक्ताले ती हल्लामात्रै भएको प्रतिक्रिया दिएका छन्।