'एक करोड बढी कारमा प्रदूषण स्तर ढाकछोप'

  • 22 सेप्टेम्बर 2015
तस्वीर कपीराइट Getty

जर्मनीको प्रतिष्ठित कार निर्माता कम्पनी फोक्सव्यागनले सवारी प्रदूषण उत्सर्जनबारे उसले सामना गरेको काण्डसंग झेल्न सात अर्ब डलर छुट्याएर राखेको बताएको छ।

उक्त रकम समस्या समाधान गर्न अनि आफ्ना ग्राहकको विश्वास पुन: जित्न आवश्यक कार्यमा खर्च गरिने उसको भनाई छ।

विश्वभर उसका एक करोड दश लाख डिजेल गाडीहरुमा असली प्रदूषणको स्तर लुक्ने सफ्टवेयर जडान भएको उक्त कम्पनीले जनाएको छ।

फोक्सव्यागन कम्पनीको अमेरिका व्यापार प्रमुख माइकल हर्नले प्रदूषण जाँचलाई छल्ने सफ्टवेयर प्रयोग गरेर आफूहरुले गल्ती गरेको स्वीकार गरेका छन्।

छानबिन

ब्रिटेनले उक्त काण्डबारे यूरोपभर छानबिन हुनुपर्ने माग गरेको छ।

यसअघि फ्रान्सले फोक्सव्यागन तथा अन्य गाडीहरुको छानबिन गरी ग्राहकलाई आश्वस्त पार्नुपर्ने बताएको थियो।

गत शुक्रबार अमेरिकाको वातावरण संरक्षण निकाय इपीएले फोक्सव्यागनका गाडीहरुबाट प्रदूषण जाँचमा देखिएभन्दा निकै बढी प्रदूषण उत्सर्जन हुने गरेको अनि ती गाडीको सफ्टवेयरले नियामकहरुलाई छल्न सक्ने जनाएको थियो।

उक्त कम्पनीले आफ्नो पछिल्लो विज्ञप्तिमार्फत कुनै किसिमको कानुन उल्लंघनलाई आफूले नसहने जनाएको छ।

उसले सो काण्डले उब्जाएको समस्या समाधान गर्न अनि ग्राहकका विश्वास पुनः आर्जन गर्न आवश्यक कारवाहीका लागि चाहिने स्रोतबारे यसै वर्षको तेस्रो चौमासिक नाफा नोक्सान खातामा उल्लेख गरिने बताएको छ।

बीबीसीका व्यापार सम्पादक भन्छन्- उच्च सरकारी सूत्रहरुले फोक्सव्यागनबारे छानबिन गर्न युरोपेली आयोगलाई सक्रिय हुन भनिरहेको उनलाई बताएका छन्।

अमेरिकामा शुक्रबार फोक्सव्यागनलाई बेचिसकेका पाँच लाख कार फिर्ता लिन आदेश दिइएको थियो।

जरिवाना

यसरी फिर्ता लिन गरिएको आदेशका साथ सो कम्पनीमाथि निकै जरिवाना गरिने देखिन्छ।

ती जरिवाना अर्बौं डलर बराबर हुने ठानिएको छ।

त्यसमाथि सो कम्पनीका कार्यकारीहरुमाथि फौज्दारी अभियोग लगाइन सक्छ।

आफ्नो पछिल्लो विज्ञप्तिमा सो कम्पनीले डिजेल इन्जिनमा प्रयोग हुने एक खास सफ्टवेयरसंग सम्बन्धित अनियमितताबारे प्रष्ट पार्न तीव्र गतिमा काम गरिरहेको जनाइएको छ।

अमेरिकी वातावरण संरक्षण निकायका अनुसार उसले त्यस्तो अनियमितता अउडी ए थ्री अनि फोक्सव्यागन जेट्टा बिटल गल्फ र पासाट मोडलहरुमा भेटिएको छ।

उसका अनुसार संघीय स्वच्छ वायू कानुन अनुसार त्यसरी छल्ने प्रत्येक गाडीमाथि करिब साढे ३७ हजार डलर जरिवाना हुन्छ।

अहिले त्यस्तो अनियमितता पौने पाँच लाख गाडीमा भएको हुन सक्ने हुँदा कूल जरीबाना १८ अर्ब डलर पुग्न सक्ने देखिन्छ।