धर्नाका कारण नेपाल-भारत नाका ठप्प

  • 24 सेप्टेम्बर 2015
तस्वीर कपीराइट ram sarraff

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफ्नो आन्दोलनलाई राजमार्ग र भन्सार नाकामा केन्द्रित बनाउने निर्णय गरेको भोलिपल्ट बिहीबार पूर्वी तराईका मुख्य नेपाल-भारत नाका ठप्प रहेका छन्।

वीरगञ्जमा आन्दोलनकारीद्वारा नाकामा धर्ना बसेपछि बिहानै देखि सीमा क्षेत्र तनावग्रस्त बनेको छ।

सीमा खुलाउन प्रहरीले दिनभरि गरेको प्रयास अबेर रातिसम्म सफल हुन सकेको थिएन।

नेपाल भारतको वीरगञ्ज रक्सौल मैत्री पुलमा मोर्चाका नेता कार्यकर्ताले विहीबार बिहानैदेखि धर्ना दिएपछि सवारीसाधनहरु चल्न सकेनन्।

अवरोध

नेपालमा पेट्रोलियम पदार्थ आयात हुने मुख्य नाकाको रुपमा बीरगञ्ज रहेको छ।

नाका खुलाउन प्रहरीले निरन्तर प्रयास गरे पनि राति सम्म खुल्न सकेको थिएन।

धर्ना बसेकाहरुलाई हटाउन प्रहरीले तीन राउन्ड अश्रुग्यासको गोला प्रहार गरेको र एक राउन्ड हवाई फायर गरेको थियो। पुलबाट हट्न प्रहरीले गरेको माइकिङलाई धर्ना दिनेहरुले वास्ता गरेनन्।

प्रहरी जाँदा भारतीय भूमितिर जाने र प्रहरी फर्किएपछि आन्दोलनकारीहरु पुलमा बस्ने गरेका थिए।

तर पर्साका प्रहरी उपरीक्षक दिवस लोहनीले सीमावर्ती क्षेत्रका सुरक्षा अधिकारीहरुसँग वार्ता गरी नाका खुलाउने बताए।

उनले भने, “नेपाल भारतको रक्सौलको मितेरीपुलमा बसेका छन् धर्ना भनेर। अब धर्ना बसेको कारणले आवतजावत बन्द भएको छ। बन्द गर्नुभयो भने प्रहरीले हटाउँछ यहाँबाट भनेर माइकिङ गर्ने काम गरिरहेका छौं। भएन भने हामी हटाउँछौं।”

वाध्यता

धर्नाको नेतृत्व गरिरहेका नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले आन्दोलनलाई निर्णायक बनाउन शुरु गरिएको धर्ना नहट्ने बताए।

उनले भने, “अब काठमाण्डूको नाकाबन्दी नगरेसम्म मधेशी आन्दोलनले निर्णायक मोड प्राप्त गर्दैन भन्ने लागेर हामीले यो आन्दोलनलाई कडा पारेको हो। त्यसैले हिजो र आज रक्सौलमा पनि अलि कडा पारेको हो। यो पनि अनिश्चितकालीन हो।”

पूर्वको काकडभिट्टा नाकामा आन्दोलनकारीहरुले धर्ना नदिएको भए पनि भारतीय क्षेत्रबाट मालवाहक ट्रकहरु नेपाल भित्रिन सकेका छैनन्।

नाका बन्द हुँदा दैनिक करोडौंको भन्सार राजस्वमा असर पर्ने भन्दै अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्।

प्राय: सबै सीमा नाकाहरुमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो।

पश्चिम तिरका नाकाहरुमा भने खासै समस्या देखिएका छैनन्।

विराटनगरको जोगबनी नाकामा चाहिँ आन्दोलनकारीहरुले धर्ना दिएपछि आवतजावत ठप्प रहेको छ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बुधबार राजबिराजमा सम्पन्न बैठकले सीमा नाका र राजमार्ग अवरुद्ध गर्ने निर्णय गरेको थियो।

तराईका अन्य जिल्लामा विहीबार पनि प्रदर्शन जारी रह्यो।