भट्टराईद्वारा एमाओवादी पार्टी परित्याग

  • 26 सेप्टेम्बर 2015
भट्रराई
Image caption नयाँ शक्तिको वकालत गर्दै आएका भट्टराईले अर्को पार्टी कहिले गठन गर्ने स्पष्ट नभएको बताए

कहिले अध्यक्ष प्रचण्डसंग असन्तुष्टि त कहिले नयाँ शक्ति बनाउने चर्चा चलाउँदै आएका एकीकृत नेकपा माओवादीका एकजना वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले शनिबार अन्तत: पार्टी परित्यागको घोषणा गरेका छन्।

उनले शनिबारनै व्यवस्थापिका संसदको सदस्य पदबाट बाहिरिनका लागि सभामुखलाई राजीनामापत्र बुझाइसकेको समेत बताए।

पार्टीभित्र लामै समयदेखि शक्ति संघर्षको कुराले असन्तुष्ट देखिएका बाबुराम भट्टराईले पछिल्ला दिनमा पार्टी नेतृत्वको खुलेरै सामाजिक सञ्जालहरुमा आलोचना गर्दै आएका थिए।

वर्तमान राजनीतिक समस्याको छलफल गर्न डाकिएको केन्द्रिय समितिको बैठकको पूर्वसन्ध्यामा भट्टराईले पार्टी परित्याग गर्नुलाई अस्वाभाविक भन्दै एकीकृत नेकपा माओवादीले उनले निर्णय पुनर्विचार गर्ने आशा गरेको छ।

असन्तुष्टि

शनिबारको पत्रकार सम्मेलनमा जम्मा आधा घन्टा आफ्ना कुरा राखेका उनले लामो समय त केवल संविधान जारी हुँदासम्मको आफ्नो राजनीतिक जीवन र त्यसबीच पार्टीभित्र रहेर आफूले उठाएका मुद्दाहरुकै व्याख्या गरेर बिताए।

हालै पार्टी अध्यक्षबाटै पनि केही आलोचना खेपेका उनको अभिव्यक्तिमा नेतृत्वप्रतिको असन्तुष्टि त झल्कन्थ्यो तर उनले आफू रहँदै आएको पार्टीको औचित्य अब नरहेको दावी पनि गरे।

उनले भने, "तरकारी काट्नको निम्ति चक्कु चाहिन्छ भने खसीको लागि खुकुरी चाहिन्छ। त्यसैले आवश्यकता अनुसार एउटा युगमा बनेको पार्टी अर्को युगको निम्ति नयाँ ढंगको पार्टी आवश्यक पर्ने हुन्छ।"

केही समय अघि देखि नै नयाँ शक्तिको वकालत गर्दै आएका उनले अर्को पार्टी कहिले गठन गर्ने स्पष्ट नभएको बताए।

सम्भावना

उनले पार्टी परित्यागको जानकारी पार्टी अध्यक्ष प्रचण्डलाई पनि दिइसकेको उल्लेख गरे।

उनले भने, अब संविधानसभाबाट संविधान बनिसकेको अवस्थामा मैले अब त्यसमा के गर्न सक्छु त्यसमा व्यापक छलफल गर्ने आसयले आजैका मितिदेखि लागू हुने गरि एकीकृत नेकपा माओवादीको सम्पूर्ण जिम्मेवारी र साधारण सदस्यतासमेत परित्याग गरेको घोषणा गर्दछु।""

एकीकृत माओवादी पार्टीमै फर्कने सम्भावना कति छ? भन्ने प्रश्नमा उनको जवाफ थियो, "घरबाट निस्किसकेपछि नयाँ घर बनाउने, नयाँ बाटोमा जाने अथवा जंगलमा जाने विभिन्न विकल्पहरु हुन्छ। पुरानो घर, भत्किएको घर, छोडेको घर फर्कने कुरा हुँदैन।"

पत्रकार सम्मेलनका क्रममा उनले संविधान जारी हुँदाका बखत सम्बोधन नभएका असन्तुष्ट तराई केन्द्रीत दलहरु, जनजाति र थारु समुदायको माग सम्बोधन गर्नुपर्नेमा पटकपटक जोड दिएका थिए।

तर यही समस्या चर्किएको निहुँमा छिमेकी भारतले पछिल्ला दिनमा देखाएको असन्तुष्टि र उनकै शब्दमा 'अघोषित नाकाबन्दी' को भट्टराईले कडा विरोध गरे।