मौज्दात इन्धनले धेरै नधान्ने: निगम

  • 26 सेप्टेम्बर 2015
तस्वीर कपीराइट noc
Image caption इन्धन बोकेका साधन भारतमै रोकिएपछि नेपालमा त्यसको अभाव चर्किएको छ

भारतबाट पेट्रोलियम पदार्थको सहज आयात हुन नसकेको बेला बजारमा नियमितभन्दा बढी माग भएको भन्दै नेपाल आयल निगमले मौज्दात घट्दै गएको जनाएको छ।

तेल आयात हुने नेपाल नाकामा चक्काजाम गरिएको र भारतीय पक्षले पनि तेल लगायतका अन्य वस्तु बोेकेका सवारी साधनलाई नेपाल आउन नदिएको बताइएको छ।

झन्डै ४० दिन सम्म तराईका विभिन्न भूभागमा भैरहेको बन्द हडतालकाबीच सुरक्षा निगरानीमा पेट्रोलियम पदार्थ देशका विभिन्न स्थानमा पुर्याउने काम भइरहेको थियो।

माग तीब्र

तर पछिल्ला केही दिनमा आन्दोलनकारीहरुले सीमा-नाकामै बसेर बिरोधका कार्यक्रम गरिरहेका बेला भारतीय पक्षबाट पनि सुरक्षा कारण देखाउँदै पेट्रोलियम पदार्थ बोकेका सवारी साधन नेपाल भित्रन नदिएको बताइएको छ।

यही अवस्था रहे आफुहरुसँग रहेको मौज्दातले बजारको माग धान्न नसक्ने नेपाल आयल निगमका प्रवक्ता दिपक बराल बताउँछन्।

उनी भन्छन्, "पछिल्ला तीन-चार दिनमा माग एकदमै बढेको छ, यस्तै हो भने हाम्रो मौजदातले धान्न समस्या पर्छ, उपभोक्ताले प्रयोगमा ध्यान दिने हो भने हामी दुई हप्तासम्म धान्छौं।"

पेट्रोलियम पदार्थले भरिएका कतिपय ट्याङकरहरु भारतीय सीमामा रोकिएको र केही ट्याङकर तेल भर्ने प्रतिक्षामा डिपोहरुमा रहेको बताइएको छ।

निगमले आयातको अवस्था सन्तोषजनक नभएको भन्दै उपभोक्ताहरुलाई पेटोलियम पदार्थको अतिआवश्यक प्रयोग मात्र गर्न आग्रह गरेको छ।

खाद्यान्न

सीमाबाट आयात सहज नभए पनि अन्य खाद्यवस्तुको भने अभाव हुने अवस्था नरहेको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले बताए।

उनले भने, "खाध्यानको समस्या छैन, चाडपर्वलाई पनि ध्यानमा राखेर मौज्दात व्यवस्था गरेका छौं र बजार पनि सहज आपूर्ति हुने स्थिति छ।"

ग्याँसका २ सय बुलेट अर्थात करिव २५ हजार सिलिन्डर ग्याँस पनि सीमामै रोकिएको बताइएको छ।

शुक्रवार मुसलमान समुदायको चाडको विदाका कारण भर्न नपाएका ट्याङकर भरिएमा र सीमामा रोकिएका सबै ट्याङकर भित्रिएमा तेलको वितरण पुरानै अवस्था फर्किने अधिकारीहरुले अपेक्षा गरेका छन्।