संविधानसभाको पर्दा पछाडिका पात्र

  • 29 सेप्टेम्बर 2015
Image caption संविधानको परिमार्जित विधेयक अत्यधिक मतबाट पारित भएको थियो

दुईवटा संविधानसभाको चुनाव, एक पटकको विफलता र अर्बौ रुपैयाँको लगानीपछि अघिल्लो हप्ता संविधानसभाले नयाँ संविधान ल्यायो।

नयाँ संविधान घोषणा भएसँगै संविधानका पक्ष विपक्षमा उभिएका राजनीतिक दल र सभासदहरुको राम्रै चर्चा भएको छ।

तर हाल संसदमा रुपान्तरण भइसकेको संविधानसभामा संविधान लेखनका लागि अन्तिमसम्म खटिने अधिकांश पात्रहरु गुमनाम नै छन्।

पर्दा पछाडि

तिनै मध्येका एक पात्र हुन्, संसद सचिवालयका मुद्रण अधिकृत जगदिश्वरलाल श्रेष्ठ।

उनी अहिले संविधानसभाले जारी गरेको नयाँ संविधानका प्रति छाप्न व्यस्त छन् तर उनको अहिलेको चटारो संविधान जारी हुनुभन्दा पहिले जस्तो दुखदायी छैन।

राष्ट्रपति रामवरण यादवले ढोग्दै हस्ताक्षर गरेका संविधानका ५ वटा मूलप्रति नेपाली कागजमा छपाई गर्ने ऐतिहासिक दायित्व श्रेष्ठ र उनका ८ जना साथीहरुले पाएका थिए।

खासगरी दोस्रो संविधानसभाले अन्तिम चरणमा गरेका कामहरुमा सहयोग पुर्याउन रातभर नसुतेरै छपाइको काम गरेको अनुभव श्रेष्ठको छ।

“संविधानको मस्यौदा आउँदा, संशोधन भएपछि र यो संविधान आउँदा पनि हामी एक डेढ रात सुत्न पाएनौं,” उनले भने।

चाप

संविधानका प्रत्येक धारा पारित गर्ने प्रक्रिया शुरु हुनुअघि संविधानसभाको कार्यव्यवस्था शाखामा कामको निक्कै चाप बढ्यो।

संविधानसभाको बैठक सञ्चालनसम्बन्धी सबै काम गर्ने जिम्मा पाएको उक्त शाखाका कम्प्युटर अपरेटर सुरेशराज सेढाइले प्रस्तावित विधेयकका प्रत्येक धाराबारे संविधानसभा अध्यक्षले बैठकमा वाचन गर्नुपर्ने झण्डै २ हजार पानाको विवरण तयार पारे।

२०६१ सालदेखि संसद सचिवालयमा काम गर्दै आएका उनले पहिलो र दोस्रो संविधानसभाका सम्पूर्ण बैठकका अभिलेख राख्ने समेत काम गरेका छन्।

समय भन्दा कयौँ घण्टा ढिला शुरु हुने संविधानसभाका अनगिन्ती बैठकहरु र दलहरुबीचको सहमति र विमतिका आधारमा क्षण क्षणमै बदलिने गरेका कार्यसूची अनुसार काम गर्ने बानी परेको उनी बताउँछन्।

नयाँ संविधान जारी भएकोबारे अलि दुखेसो पोख्दै उनले भने, “अघिल्लोपटक पनि संविधान विफल भयो। त्यो बेला संविधान आएको भए यतिका मान्छे मर्दैन थिए कि भन्ने भएको थियो। अझ पनि शान्ति भएको छैन। तैपनि संविधान आएपछि पछिल्लो चरणमा बरु संशोधन हुँदै तिनीहरुलाई समेट्दै जान सकिन्छ भन्ने छ।”

संविधानसभा र संसदको सुरक्षाको जिम्मेवारी पाएका झण्डै सवा सय नेपाल प्रहरीका मर्यादापालक पनि अहोरात्र खटिनेमा पर्छन्।

सत्तापक्षीय दलहरुले बहुमतिय प्रक्रियाबाट संविधान निर्माण अघि बढाउन खोज्दा अघिल्लो माघमा प्रमुख विपक्षी एकीकृत माओवादीसहित दलका कतिपय सभासदहरुले संविधानसभाभित्र तोडफोड मचाए।

ओझेल

सभासद्हरुले संविधानसभामा नाराबाजी थाल्ने बित्तिकै हाते साङ्लो बनाएर संविधानसभाको बैठक कक्षमा शान्ति सुव्यवस्था कायम गर्न खटिने मर्यदापालक मध्येकी एक प्रहरी निरीक्षक सपना बोगटीले संविधान आएकोमा आफू खुशी भएको बताइन्।

उनले भनिन्, “नेपालको संविधान २०७२ घोषणा भयो। त्यो नै हामी सम्पूर्ण नेपाली जनताको खुशीको क्षण थियो।”

व्यवस्थापिकाको समेत काम गरेको हुनाले संविधानसभा सचिवालयमा कार्यरत कर्मचारीलाई नियमित तलबको थप ८० प्रतिशत भत्ता उपलब्ध गराउँदै आइएको थियो।

संविधानसभाका महासचिव मनोहर भट्टराई झण्डै ५ सय कर्मचारी र सुरक्षाकर्मीले संविधान निर्माणमा प्रत्यक्ष भूमिका खेलेको र उनीहरुको भूमिकालाई यथोचित कदर गरिने बताउँछन्।

उनले भने, “दुई अढाई सय जति स्थायी कर्मचारीहरु छौं। ती बाहेक काजमा आउनुभएका कानुन मन्त्रालय, महान्यायाधिवक्ता र सर्वोच्च अदालतबाट आएर काम गर्नुभएका कर्मचारीसमेत जोड्दा करिब ५०० कर्मचारीको सहयोग यसमा रह्यो।”

संविधान जारी हुने दिनको आफ्नो सम्बोधनमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधान लेखनमा योगदान पुर्याएकोमा सचिवालयका महासचिव भट्टराई, सचिव मुकुन्द शर्मा, कानुन मन्त्रालयका सहसचिव टेकप्रसाद ढुंगानाको नाम उल्लेख नै गरेर विशेष धन्यावाद दिए।

त्यसबेला नेम्वाङले संविधान लेखनमा भूमिका खेलेका सबैलाई धन्यवाद दिए पनि संविधान जारी भएपछिका राजनीतिक घटनाक्रम र असन्तुष्टीले पर्दा पछाडिका पात्रहरुलाई ओझेलमा पारेको छ।