वार्ता टोली र मोर्चाबीच छलफल जारी

  • 29 सेप्टेम्बर 2015
तस्वीर कपीराइट ram sarraff
Image caption तराईमा ९ साता भन्दा लामो समयदेखि तनाब जारी रहँदा खाद्यान्न लगायतमा समस्या हुन थालेको छ

प्रमुख तीन दलले गठन गरेको वार्ता टोली र तराईमा आन्दोलनरत दुई मोर्चाका नेताबीच अनौपचारिक वार्ता सँगै उनीहरुले उठाउँदै आएका मुद्दाहरुमा पनि छलफल भइरहेको नेताहरुले बताएका छन्।

मंगलबारसम्म भएको छलफल सकारात्मक रहेको र यही गतिमा छलफल भए छिट्टै समाधान निस्किने उनीहरुले बताएका छन्।

सरकारका तर्फबाट वार्ताको वातावरण बनाउन ढिलाइ भइरहेको बताउँदै आएका आन्दोलनरत दलहरुले प्रदेशको सीमांकनलगायतका विषयमा तीन दलको स्पष्ट धारणा आउनुपर्ने बताएका छन्।

प्रमुख तीन दलले आन्दोलनरत मधेश केन्द्रित दलहरुसँग वार्ता गर्नका लागि बनाएको टोलिले मंगलवार पनि मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका हुन्।

समीक्षा

लम्बिँदै गएको नाकाबन्दी र त्यसले पारेका असरहरुको समीक्षा गर्दै यसको अन्त्य कसरी गर्ने भन्नेबारेमा भएको छलफल सकारात्मक रहेको तीन दलीय वार्ता टोलिका सदस्यसमेत रहेका एकीकृत माओवादी नेता नारायण काजी श्रेष्ठले बताए।

उनले भने, "मुख्यत हामीले कसरी समाधान गर्ने भन्ने छलफललाई केन्द्रित गर्न खोजिरहेका छौं। छिटो भन्दा छिटो औपचारिक वार्ता पनि गर्न पाए त हुन्थ्यो भन्ने हो तर राजनीतिक समाधान के हुन्छ भन्नेमा हामी छलफललाई केन्द्रित गर्न खोजिरहेका छौं।"

वार्ता र संवादको माध्यमद्वारा समाधान निकाल्ने भन्दै आएका सरकारी पक्ष र आन्दोलनरत दलहरुबीच हालसम्म औपचारिक वार्ताको तिथि मिति भने तय हुनसकेको छैन।

छलफलमा सहभागी दुईवटै दलका नेताहरु तराईमा आन्दोलनरत दुई मोर्चाकै प्रतिनिधिका रुपमा रहेकाले उनीहरुले उठाउँदै आएका राजनीतिक मुद्दामासमेत छलफल शुरु गरिएको बताइएको छ।

मंगलवार तराई गएका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर आन्दोलनरत अन्य नेताहरुसँग पनि कुरा गरेर फर्किए पछि छलफल अघि बढने नेता श्रेष्ठले बताए।

उनले भने "हामीसँग समझदारी भएको छ त्यसले पनि उहाँहरुले वार्तालाई महत्व दिनु भएको प्रष्ट हुन्छ। बुधवार नै उहाँ फर्किनु हुन्छ हामी बुधवार बेलुकै या बिहीवार बिहान फेरी छलफलमा जुट्छौं।"

गुनासो

दलहरुले वार्ताको वातावरण बनाउने भनिए पनि व्यवहारमा त्यो लागू नभएको आन्दोलनरत दलहरुको भनाई छ।

लगातार २ दिन सम्म भएको छलफलले केही दिन देखि देखिएको दुरी घटेको भए पनि तीन दलका वीचमा आफूहरुले उठाएका मुद्दाहरुमा स्पष्टता हुनुपर्ने तराई मधेश लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले बताए।

उनले भने, "वार्ता र संवादलाई हामी छोड्दैनौ, तीन दलको विचमा एकरुपता हुनुपर्यो। मुद्दाहरुमा स्पष्टतासहित गृहकार्य गरेर आउनु पर्यो त्यस पछि वार्ता फलदायी ढंगले अगाडि बढ्नसक्छ।"

तराईमा २ प्रदेश हुने गरि प्रदेशको सीमांकन गरिनुपर्ने, जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण गरिनुपर्ने, समानुपातिक समावेशीको व्यवस्था गरिनुपर्ने लगायतका मागहरु आन्दोलनरत तराई केन्द्रित दलहरुका रहेका छन्।

सरकार र तीन दलले वार्तामा सहमति भए संविधान संशोधनमार्फत् ति विषयलाई संविधानमा समावेश गर्न सकिने बताउँदै आएका छन्।