सुरक्षा गार्डहरुको ब्यारेक पुनः नियन्त्रणमा

  • 30 सेप्टेम्बर 2015
तस्वीर कपीराइट Reuters
Image caption कूबाट सुरक्षा गार्डहरु पछि हटेपछि राष्ट्रपति मिशेल काफान्डो पुनर्बहाली भएका छन्

बुर्किना फासोको अन्तरिम सरकारका अधिकारीहरुले यसै महिनाको शुरुतिर सत्ता हत्याउने कार्यमा संलग्न विशेष सुरक्षा बलको ब्यारेकलाई पुनः नियन्त्रणमा लिइएको बताएका छन्।

टेलिभिजनमार्फत वक्तव्य जारी गर्दै अधिकारीहरुले त्यसबारे जानकारी गराएका हुन्।

बीबीसीका एकजना संवाददाताका अनुसार सुरक्षाबलले राजधानी उगाडुगुस्थित उक्त ब्यारेकलाई पुनः नियन्त्रणमा लिनुअघि विष्फोट र गोली चलाइएको आवाज सुनिएको थियो।

त्यस्तै ब्यारेकबाट धुँवाको मुस्लो देखिएको थियो।

हताहती

उक्त ब्यारेकलाई सेनाले पुनः नियन्त्रणमा लिने क्रममा हताहती भए वा नभएकोबारे स्पष्ट हुन सकेको छैन्।

सत्ता पलटपछि राष्ट्रपतिका सुरक्षा गार्डहरुले हतियार नबिसाएको सेनाले बताएको छ।

सेनाले समर्थन नगरेपछि राष्ट्रपतिका सुरक्षा गार्डहरु सत्ताबाट पछि हटेका थिए।

कूको नेतृत्व गरेका सेनाका जेनरलको स्थिति अझै अज्ञात छ।

सत्ता पलट गराउने कार्यमा संलग्न सुरक्षाकर्मीहरुलाई यसअघि उनले रक्तपात हुनबाट रोक्न भन्दै आत्मसमर्पण गर्न आग्रह गरेका थिए।

गोलाबारी

उक्त ब्यारेकलाई सेनाले पुनः नियन्त्रणमा लिने क्रममा धेरैको ज्यान गएको हुन सक्ने समाचार संस्था एएफपीलाई उनले बताए।

सैनिक प्रवक्ताका अनुसार ब्यारेकलाई पुनः नियन्त्रणमा लिनुअघि सेनाले दिनभर घेरा हालेको थियो। त्यसपछि गोलाबारी गर्दै सैनिकहरु भित्र पसेका थिए र ब्यारेकलाई नियन्त्रणमा लिएका थिए।

राष्ट्रपतिको सुरक्षा हेर्ने गार्डहरुको संख्या एक हजारदेखि तीन हजारको बीचमा छ।

र, उनीहरु विशेष प्रशिक्षण प्राप्त भएको बताइन्छ।