रुसी, अमेरिकी सेनाबीच समन्वयमा जोड

  • 1 अक्टोबर 2015
जन केरी तस्वीर कपीराइट AP
Image caption रुसले सिरियामा कारवाही थाल्ने वित्तिकै अमेरिकाले क्रुध्द प्रतिक्रिया दिएको थियो

रुसी विदेशमन्त्री सर्गेई लाव्रोव र अमेरिकी विदेशमन्त्री जन केरी रुस र अमेरिकाबीच तनाव हुन नदिन सिरियामा सैन्य कारवाहीका क्रममा दुबै देशले समन्वयन गर्नेबारे सहमत भएका छन्।

सिरियामा रुसले पहिलो सैन्य कारवाही गरेपछि न्यू योर्कमा एक संयुक्त पत्रकार सम्मेलनमा बोल्दै लाव्रोवले उनकै शब्दमा अनावश्यक घटना हुन नदिन दुबै पक्षबीच समन्वय हुनु पर्ने बताए।

त्यस अघि रुसले सिरियामा पहिलो हवाई आक्रमण गर्नु केही समय अघिमात्र कारवाहीका बेला अमेरिकी युद्धक विमानहरु टाढै रहनुपर्ने सूचना दिएको अमेरिकाले गुनासो गरेको थियो।

अमेरिकी रक्षा मन्त्री एश कार्टरले रुसले सिरियाली द्वन्दवको "आगोमा घिउ थप्ने खतरा" बढेको टिप्पणी गरेका थिए।

आशा

केरिले रुसी र अमेरिकी सैनिक फौजहरुबीच छिट्टै वार्ता हुने आशा व्यक्त गरे।

“हामी छिटो भन्दा छिटो, दुबै देशका सेनाबीच वैठक, भेला वा छलफल के गर्न सकिन्छ त्यो गर्ने भन्ने कुरामा सहमत भयौं; द्वन्द्वको सम्भावनालाई कम गर्नु अत्यावश्यक रहेको कुरामा हामी सहमत भयौं।”

अब एउटै क्षेत्रमा हवाई आक्रमण गर्ने बेला आपसी जोखिम न्यूनीकरणका निम्ति एकअर्कासँग पर्याप्त सूचना आदानप्रदान गर्नेछन्।

सहमतिबारे पत्रकारहरुलाई जानकारी गराउन केरी र लाव्रोव राष्ट्रसंघीय सुरक्षा परिषद्को च्याम्बरमा सँगै उभिएका थिए।

लाव्रोवले भने, “कुनै अप्रिय घटना नहोस् भनेर रुसी र अमेरिकी सेनाले एकअर्कासँग सम्पर्क गर्ने र त्यसका निम्ति सञ्चार शुरु गर्ने विषयमा हामी सहमत भएका छौँ।”

बीबीसीका कूटनीतिक संवाददाता जेम्स् रोब्बिन्स भन्छन् सिरिया मामिलालाई लिएर रुस अमेरिकाबीच अझै आधारभूत विमति छन्।

“तर पछिल्लो सहमतिसँगै दुवै पक्षले एकअर्काको सेनामाथि आक्रमण गर्ने जोखिम कम भएको देखिन्छ।”

दुई मुलुकका विदेशमन्त्रीहरुबीच गएराति भएको सहमति अनुसार अमेरिकी र रुसी सेनाले अब उप्रान्त सिरियामा गरिने आक्रमबारे विस्तृत सम्पर्क बनाउन शुरु गर्नेछन्।