ओबामाः सिरियामा रुसी आक्रमणको निन्दा

  • 3 अक्टोबर 2015
तस्वीर कपीराइट Getty
Image caption रुसले सिरियाका मध्यमार्गी विपक्षी समूह र इस्लामिक स्टेटबीच फरक नदेखेको आफूले पाएको ओबामाले बताएका छन्

अमेरिकी राष्ट्रपति बराक ओबामाले सिरियाली राष्ट्रपतिलाई सघाउँदै रुसले गरिरहेको बमबारीले मध्यमार्गी विपक्षीहरुलाई भूमिगत र इस्लामिक स्टेटलाई बलियो बनाइरहेको बताएका छन्।

बशर अल असदविरुद्ध लडिरहेका सबै सशस्त्र विपक्षी समूह आतंकवादी भएको भनी रुसी निष्कर्षलाई आफूले अस्वीकार गरेको उनले बताए।

मस्कोलेले आफ्नो हवाई आक्रमणले इस्लामिक स्टेटलाई मात्र निशाना बनाइरहेको बताउँदै आएको छ।

रुसी सेनाले बुधबारदेखि सिरियामा आक्रमण गरिरहेको छ।

बमबारी

तर सिरियाका विपक्षी लगायतकाले इस्लामिक स्टेटसँग सम्बन्ध नभएका विद्रोहीहरुले रुसी आक्रमणको असर भोगिरहेको बताएका छन्।

रुसले भनेको छ, उसका लडाकु विमानहरुले इस्लामिक स्टेटका केन्द्रहरु, हतियार भण्डार र सैन्य सवारी साधनमाथि प्रहार गरेका छन्।

रुसी सेनाले हवाई आक्रमण गरिरहेका शहरहरुमा इस्लामिक स्टेटको बलियो पकड रहेको राक्का पनि छ।

तर इस्लामिक स्टेटको सामान्य उपस्थिति रहेका एलेप्पो, हामा र इड्लिब प्रान्तहरुमा पनि रुसी सेनाले बमबारी गरिरहेको छ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनलाई संबोधन गर्दै अमेरिकी राष्ट्रपति ओबामाले भने, “समस्या भनेको असद र उनले सिरियाली जनतामाथि गरिरहेको क्रुरता हो र यो अन्त्य हुनुपर्छ।”

सहकार्य

उनले थपे, “असदसँग वाक्क भएका र उनीविरुद्ध लडिरहेकाहरुलाई समाप्त पार्ने रुसी अभियानसँग सहकार्य गर्न हामी गइरहेका छैनौँ।”

ओबामाले रुसी दृष्टिकोणबाट उनीहरु सबै आतंकवादी भएको भन्दै त्यो विनाशको बाटो भएको टिप्पणी गरे।

उनले आगामी दिनमा खतराको सामना गर्न रुसी राष्ट्रपति पुटिन र असदका अर्को सहयोगी इरानलाई चेतावनी समेत दिए।

यद्यपि सिरियाबारे अमेरिका र रुसबीच रहेको मतभेदलाई लिएर दुई मुलुक वाकयुद्धमा नलाग्ने ओबामाले बताए।