बन्दका कारण पर्यटन व्यवसाय पुनः ‘धरमराउँदै’

  • 3 अक्टोबर 2015
Image caption यसअघि भूकम्पका कारण पर्यटकहरुको आगमनका कमी देखिएपनि विस्तारै सुधार आउन थालेको थियो।

तराईमा जारी आन्दोलनका माझ ढुवानीमा असुरक्षाको कारण देखाउँदै भारतले पेट्रोलियम नेपाल पठाउन रोकेपछि पर्यटन व्यवसाय धराशायी हुने अवस्थामा पुगेको व्यवसायीहरुले बताएका छन्।

पर्यटन आगमनको मुख्य याम भएपनि तराईमा आन्दोलन शुरु भएयता झण्डै डेढ महिनादेखि पर्यटक आगमनमा कमी आइरहेको थियो।

रेष्टुराँ एण्ड बार एशोशियन पोखराका पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले ग्याँस अभाव भएपछि खानाको परिकार कम गरेको बताए।

उनले भने, “ओभनबाट ग्रील गरेर बनाउनुपर्ने खाना बनाउन छोडेका छौँ, मेन्यु सानो बनाएका छौँ, स्याण्डवीच, चाउमीन जस्ता छिटो बन्ने खाना धेरै बनाउन थालेका छौँ, आधा काम दाउराको चुल्होमा र ग्यास नभई नहुने वस्तु मात्रै ग्याँसमा पकाउने गरेका छौँ।”

नाकाबन्दी

अधिकांशले भनेको नाकाबन्दीका कारण सिर्जित समस्याले नेपाल आइसकेका पर्यटकलाई समेत सेवा दिन समेत मुस्किल परेको छ।

क्षेत्रीय होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुली भन्छन्, “अक्टोबर नोभेम्बर महत्वपूर्ण सिजन भएकाले पचास प्रतिशतको हाराहारीमा बुकिङ आइरहेको थियो, अहिले त आएका पर्यटकलाई कसरी सेवा दिने भन्ने चिन्ता छ।”

अन्तर्राष्ट्रिय उडानमा शुरु भएको कटौती र उडान रद्दका कारण पर्यटन व्यवसाय थप मारमा पर्ने नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटाको चिन्ता छ।

उनी भन्छन्, “चाइना इस्टर्नले बन्द गरेको सुनिसक्यौँ, त्यस्तै अरु उडानले पनि दुईवटा उडान एउटैमा गाभेका छन्, त्यसले पर्यटन क्षेत्रमा बढी असर पार्छ।”

आगमन

राजधानी काठमाण्डू लगायत चितवनको सौराहा, लुम्बिनी तथा पूर्व र पश्चिमका पर्यटकीय केन्द्रमा पनि पर्यटक आगमन घटेको छ।

चितवन सौराहाका ओमप्रकाश पाण्डेले पर्यटनको अवस्था नेपालभरी नै नाजुक बनेको बताए।

उनी भन्छन्, “भूकम्पपछि पर्यटन केही सुध्रिएको थियो, सीमामा अवरोधका कारण बुकिङ भएका पनि रद्द हुने क्रम जारी छ।”

केही दिनभित्र नाकाबन्दी र तराईमा जारी आन्दोलन नरोकिए यस वर्षको पर्यटन व्यवसाय नराम्ररी धराशायी हुने पर्यटन व्यवसायीले बताएका छन्।