निष्पक्ष अनुसन्धान हुनुपर्नेमा बानको जोड

  • 4 अक्टोबर 2015
तस्वीर कपीराइट Reuters
Image caption मिड्साँ साँ फ्रन्तीयले कर्मचारी र बिरामीहरुको ज्यान लिने गरी अस्पतालमाथि पटक-पटक आक्रमण गरिएको बताएको छ

संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले अफगानिस्तानको कुन्दुज शहरस्थित एउटा अस्पतालमा अमेरिकी सेनाले गरेको हवाई आक्रमणबारे ‘पूर्ण र निष्पक्ष’ अनुसन्धान हुनुपर्ने बताएका छन्।

अफगानिस्तानस्थित अमेरिकी सेनाले अस्पताल नजिकै हवाई आक्रमण गरेको स्वीकार गरिसकेको छ।

महासचिव बानले विज्ञप्तिमार्फत भनेका छन्, “ कुन्दुजमा के भएको हो त्यसबारे वास्तविक कुरा थाहा पाउन आवश्यक छ।”

आक्रमण गरेको स्वीकार गरेपनि आफ्नो फौजमाथि फायरिङ्ग गरेका लडाकुहरुलाई निशाना बनाएको अमेरिकी सेनाले बताएको छ।

अनुसन्धान

अस्पतालका १९ जना कर्मचारी र बिरामीहरुको ज्यान लिएको उक्त हवाई ‍आक्रमणबारे अनुसन्धान भइरहेको अफगानिस्तानस्थित अमेरिकी सेनाका कमाण्डरले बताएका छन्।

अन्तर्राष्ट्रिय मानवीय सहायता मिड्साँ साँ फ्रन्तीयद्वारा सञ्चालित उक्त अस्पतालमा मारिनेहरुमा तीनजना बालबालिका पनि छन्।

जनरल जन क्याम्बलले के भएको हो भनी पत्ता लगाउने काम भइरहेको बताए।

उनले पीडितहरुका लागि आफूले प्रार्थना गरिरहेको जनाए।

पटक-पटक

अस्पातल नजिकै हवाई आक्रमण गरेको स्वीकार्दै अमेरिकी फौजले त्यसबाट भवनमा क्षति पुगेको हुन सक्ने जनाएको छ।

अफगान सुरक्षा फौजलाई सल्लाह दिइरहेका र सघाइरहेका आफ्ना सैनिकमाथि लडाकुहरुद्वारा फायरिङ्ग गरिएको अमेरिकी सेनाले जनाएको छ।

मिड्साँ साँ फ्रन्तीयले कर्मचारी र बिरामीहरुको ज्यान लिने गरी अस्पतालमाथि पटक-पटक आक्रमण गरिएको बताएको छ।

राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तले आक्रमण दुखद, अक्षम्य र संभवत युद्ध अपराध भएको बताएका छन्।