इन्धन संकट कायमै

  • 5 अक्टोबर 2015
ट्रकहरु तस्वीर कपीराइट Reuters
Image caption भारतीय अधिकारीहरुले आपूर्ति सुचारु पार्ने बताएको भनिए पनि इन्धन संकट सहज हुन सकेको छैन

सोमबारपनि मुलुकभरका अधिकांश मुख्य भन्सार नाकाहरुबाट इन्धन लगायतका मालवाहक साधनहरु नभित्रिंदा इन्धन संकट कायमै रहेको छ।

नेपाल भारत सीमा नाकामा भैरहेको अवरोध हटाउन भारत सरकारले माताहतका निकायलाइ निर्देशन जारी गरेको भनिएको तेस्रो दिन नेपाल भित्रिएनन्।

भन्सार नाका क्षेत्रमा भैरहेका प्रदर्शन लगायतका विभिन्न बहाना देखाएर भारतीय अधिकारीहरुले सीमामा रोकिएका मालवाहक साधन नेपाल प्रवेशमा रोक्दै आएको नेपाली अधिकारीहरुको भनाइ छ ।

पूर्वको विराटनगर नाका भने सोमबार अलि खुकुलो गरिएपछि इन्धन, ग्यास र अन्य सामान बोकेका केही साधन नेपाल भित्रिएको भन्सार अधिकारीहरुले बताएका छन्।

'नाकाबन्दी'

भारतद्वारा गरिएको भनिएको 'अघोषित नाकाबन्दी' को १२ औं दिन सोमबार विराटनगर भन्सार नाका केही खुकुलो देखिएको थियो।

उक्त नाकाबाट सोमबार अपरान्हसम्म ग्यास, पेट्रोलियम र खाद्यान्न लगायतका सामान बोकेका ६४ वटा गाडी नेपाल भित्रिएको प्रमुख भन्सार अधिकृत कृष्ण बस्नेतले बताए ।

नेपाल र भारतका सीमावर्ती भन्सारका अधिकारी, सुरक्षा निकाय, उद्योगी, व्यवसायी र भन्सार एजेन्टहरुबीच भएको दुईपक्षीय सहमतीपछि उक्त नाकाबाट केही मालवाहक साधनहरु भित्रिएको बताइएको छ।

सीमा नाकामा पाल टाँगेर धर्नामा बसेका संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुलाई प्रहरीले आइतबार राती हटाएर नेपालतर्फको नाकाको अवरोध हटाएको थियो।

विराटनगर बाहेक वीरगञ्ज र भैरहवा, नेपालगञ्ज लगायतका नाकाबाट सोमबार कुनै पनि मालवाहक साधन नेपाल भित्रिन नपाएको अधिकारीहरुले बताएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख मित्रलाल रेग्मीले आन्दोलनकारी दशगजामा बसीरहेको र गएको बाह्र दिनदेखि कुनै सामान नभित्र‌िएको जनाए।

सीमा नाकाहरुमा सोमबार पनि मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन जारी राखेका थिए।

भैरहवा नाकामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुदा केहीबेर तनाव सृजना भएको थियो।

अलपत्र

पश्चिमको नेपालगंज नाकामा भारतीय सुरक्षाकर्मीको रोकेपछि नेपाल आउँदै गरेका सैयौ मालवाहक गाडीहरु सीमामै अलपत्र परेको बताइएको छ।

पूर्वको काकडभिटा नाकाबाट खाद्यान्न, तरकारी लगायतका सामान आउन थालेपनि एकसातादेखि पेट्रोलियम पदार्थ भने नआएको त्यहाँको भन्सार कार्यालयले जनाएको छ ।

यसैबीच भारतकालागि नेपाली राजदूत दीपकुमार उपाध्यायले सोमबार पनि दिल्लीमा भारतीय अधिकारीहरुलाई भेटेको बताए।

उनले भारतीय विदेश मन्त्रालयले बोलाएको नभै आफ्नै पहलमा भारतीय अधिकारीहरुलाई भेटेको र उनीहरु समस्या समाधानकालागि सकारात्मक रहेको आफुले पाएको बताए।

तर नेपालमा इन्धन लगायतका अत्यावश्यक सामग्रीहरुको आपूर्ति कहिलेसम्म सुचारु होला भन्नेबारे अझै केही भन्न नसकिने पनि उनको आँकलन थियो।