पहिले वातावरण अनि बल्ल वार्ता: मोर्चा

  • 6 अक्टोबर 2015
तस्वीर कपीराइट PMO Nepal
Image caption तीन दल र तराई केन्द्रीत दलबीचको पछिल्लो दूरीले विशेषगरि तराई क्षेत्रको जनजीवन निकै कष्टकर बन्दै गएको छ

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र तीन दलिय वार्ता टोलीबीच मंगलबार भएको वार्तामा मोर्चाले सरकारले वार्ताको वातावरण बनाउन गर्नुपर्ने काम नगरेको भन्दै राजनीतिक विषयमा छलफल गर्न अस्वीकार गरेको छ।

उसले आन्दोलनका बेला भएका घाईतेहरुको उपचार, मृतकलाई क्षतिपूर्ती र सुरक्षाकर्मीको फिर्ती जस्ता विषय सम्बोधन नभएको भनेपछि मंगलबार नै साँझ प्रधानमन्त्रीले अस्पताल पुगेर घाईतेहरुको स्थिति बुझेका थिए।

साथै जिल्लामा पनि घाईतेको उपचारको व्यवस्था मिलाउन निर्देशन दिइएको सरकारका एक मन्त्रीले बताए।

मंगलबार मोर्चाले उठाएका विषयलाई सम्बोधन गरी बुधबार राजनीतिक विषयमा छलफल गर्ने उनले बताएका छन्।

सम्बोधन

लामो प्रयासपछि आन्दोलनरत लोकतान्त्रिक मधेशी मोर्चा र तीन दलिय वार्ता टोलिबीच औपचारिक वार्ता भएको थियो।

झन्डै साढे २ घण्टा चलेको वार्तामा राजनीतिक विषयमा भने छलफल नभएको बताइएको छ।

घाईतेहरुको उपचारको व्यवस्था, मृतकलाई क्षतिपूर्ती, दंगाग्रस्त क्षेत्र हटाउनुपर्ने जस्ता मागहरु पहिले पूरा भएपछि मात्रै राजनीतिक मुद्धाहरुमा छलफल गर्ने धारणा आफूले राखेको मोर्चाको वार्ता टोलीका सदस्य लालबाबु राउतले बताए।

उनले भने, "राजनीतिक विषयमा पनि कुरा गरौं भन्ने कुरा उहाँहरुको थियो तर हामीले वार्ताको वातावरण बनाउन गर्नुपर्ने कामहरु गर्नुहोस् अनि फेरी वार्तामा बसौँला भन्यौं।"

संविधानमा गर्न लागिएको संशोधनलगायतका मोर्चाले उठाएका मुद्दाहरुमा छलफल गर्ने प्रस्ताव लिएर गएको तीन दलिय वार्ता टोलीले उनीहरुका धेरै माग सम्बोधन गर्ने गरि निर्णय भएको बताएका थिए।

घाईतेहरुको उपचार प्रति हालसम्म सरकारले चासोसमेत नदेखाएको विषय मोर्चाको वार्ता टोलीले उठाइरहँदा प्रधानमन्त्री स्वंय घाइतेहरुलाई भेट्न राजधानीस्थित अस्पताल पुगेका थिए।

स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव र गृह मन्त्रालयका सचिवलाई समेत लिएर गएका प्रधानमन्त्रीले सबैको उपचारको व्यवस्था गर्न र अन्य घाईतेहरुले उपचार गराइरहेका जिल्लाका अस्पतालहरुमा पनि त्यो व्यवस्था मिलाउन निर्देशन दिएको बताइएको छ।

आधार

मोर्चाका अन्य मागहरुबारे पनि काम अघि बढाइसकेको र अब हुने वार्तामा राजनीतिक विषयमा छलफल हुने तीन दलिय वार्ता टोलीका सदस्य तथा वनमन्त्री महेश आचार्यले बताए।

उनले भने, "सुरक्षा निकायहरु सामान्य अवस्थामा फर्किएका छन्, निधन भएका परिवारलाई राहत दिने प्रक्रिया पनि अगाडि बढेको छ, अब हामी राजनतिक विषयमा प्रवेश गर्नुपर्दछ भन्ने आधार तयार गरेर बुधवार हामी वार्ता गर्छौं।"

लामो समयदेखि नाकामा भइरहेको अवरोधका कारण जनजीवन प्रभावित भएको भन्दै मोर्चाको वार्ता टोलीलाई हाल सिमानाकाहरुमा जारी आन्दोलन फिर्ता लिन तीन दलिय वार्ता टोलीले आग्रह गरेको आचार्यले बताए।

उनले भने "बन्द तपाईँहरुले खोल्नु पर्दछ भनेका छौं, हेरौं बुधवारसम्म उहाँहरुको प्रतिक्रिया अनुकुल हुन्छ भन्ने आश छ।"

विजय गच्छेदारको मोर्चा र थरुहट संघर्ष समितिसँग जारी वार्तालाई पनि निरन्तरता दिइने तीन दलिय वार्ता टोलीको भनाई रहेको छ।

सरकारले सीमांकनको जिम्मा संघीय आयोगलाई दिने र त्यस बाहेकका समावेशी समानुपातिक र निर्वाचन क्षेत्रको निर्धारणको कुरा संविधानको पहिलो संशोधनबाट सम्बोधन गर्ने बताउँदै आएको छ।

तर आन्दोलनरत दलहरुले सीमांकनको कुरा पनि राजनीतिक विषय भएको भन्दै वार्ताबाटै टुङग्याउनु पर्ने बताउँदै आएका छन्।