लिबियामा मिलिजुली सरकारको प्रस्ताव

  • 9 अक्टोबर 2015
लिबियाली द्वन्द्व तस्वीर कपीराइट
Image caption मोअमर गद्दाफी सत्ताच्युत भएयता लिबिया चरम आन्तरिक द्वन्द्वमा फसेको छ

लिबियाका लागि संयुक्त राष्ट्रसंघीय दूतले महिनौंसम्म चलेका वार्तापछि त्यो देशका विपक्षी प्रशासनहरु समेटेर राष्ट्रिय मेलमिलापको सरकार बनाउने प्रस्तावको घोषणा गरेका छन्।

सन् २०११मा मुअम्मर गद्दाफी सत्ताच्युत गरिएपछि लिबिया गहिरो संकटमा होमिएको हो।

त्रिपोलीमा इस्लामवादीहरुको समर्थन रहेको सरकार छ भने देशको पुर्वतर्फ अन्तर्राष्ट्रिस समुदायले समर्थन गरेको अर्कै प्रशासन छ।

राष्ट्रसंघका दूत वर्नान्डिनो लिओनले मोरक्कोमा आयोजित एक पत्रकार सम्मेलनमा नयाँ प्रस्तावबारे जानकारी दिएका थिए।

‘क्षमायाचना’

“थुप्रै लिबियालीहरुले आफ्नो जीवन गुमाएका छन्, थुप्रै वालवालिकाहरुले दु:ख पाएका छन्, ती सबै सामु हामीले यस्तो योजनाको घोषणा यस अघि नै गर्न नसकेकोमा क्षमायाचना गर्दछौ।”

“अहिले खुशी छाइसकेको छैन। तर एउटा मौका हाम्रो सामु छ।”

पछिल्लो घोषणालाई गद्दाफी सत्ताच्युत गरिएपछि लिबियामा उत्पन्न संकट समाधान गर्ने दिशामा एक महत्वपुर्ण कदम मानिएको छ।

पछिल्लो प्रस्तावमाथि दुबै पक्षका संसदले छुट्टाछुट्टै मतदान गर्ने छन्।

त्यस क्षेत्रमा रहेका बीबीसीकी राना जवाद भन्छिन् दुबै पक्ष नयाँ प्रस्तावप्रति शंकालु छन्।

विवाद

“त्रिपोलीका एक सांसदले यस्लाई एक मृत प्रस्ताव भने, पुर्व क्षेत्रका अर्का विपक्षी समुहका सांसदले यस्लाई कागजको मसी मात्र हो भने।”

“त्यसैले अहिले नै यो त्यति राम्रो देखिन्न। अब नवघोषित प्रस्तावलाई स्वीकार गर्ने की नगर्ने भन्ने बारे विवादहरु हुन सक्छन् र थुप्रै छलफल हुने सम्भावना बढी छ।”

लिबियामा चर्किएको द्वन्द्वमा थुप्रै मानिसको ज्यान गइसकेको छ र करिव २४ लाख मानिसलाई मानविय सहायता आवश्यक रहेको राष्ट्रसंघको भनाइ छ।

सरकारको नेतृत्वको खाका समेत तयार भइसकेको बताइएको छ।

त्यसमा लिबियाको पुर्व पश्चिम र दक्षिणका समुहलाई समेट्ने गरि तीन जना उपप्रधामन्त्री रहने प्रस्ताव छ।