उम्मेदवारबारे काँग्रेस अझै अनिर्णित

  • 9 अक्टोबर 2015
तस्वीर कपीराइट nc
Image caption प्रधानमन्त्रीमा उम्मेदवारी दिने या नदिने भन्नेबारे काँग्रेस भित्र विवाद देखिएको छ

नेपाली काँग्रेसले नयाँ सरकारको नेतृत्व दावी गर्ने बारे अन्य दलसँग छलफल गरी निर्णय गर्ने जिम्मा पार्टीका तीन शीर्ष नेतालाई दिएको छ।

नेताहरुले बोल्ने क्रम सकिएपछि बैठकले भावी प्रधानमन्त्रीका लागि उम्मेदवारीबारे निर्णय गर्न प्रधानमन्त्री एवं पार्टी सभापति सुशील कोइराला सहित ३ जना प्रमुख नेताहरुलाई जिम्मा दिएको छ।

पार्टीका शीर्ष नेताहरुले अन्य दलसँगको छलफल गरी शनिबार प्रधानमन्त्रीको उम्मेदवारका बारेमा निर्णय गर्ने नेताहरुले बताएका छन्।

आफ्नो नेतृत्व दावी गर्दै काँग्रेसका प्रमुख नेताहरुले एकीकृत माओवादी सहितका दलसँग शुक्रबारबाटै कुराकानी थालेका छन्।

माग

संविधान जारी भएपछि प्रधानमन्त्री पद छाड्ने पार्टी सभापति सुशील कोइरालाले बताउने गरेको भएपनि पछिल्ला दिनमा नयाँ सरकारको नेतृत्वबारे काँग्रेस विभाजित रहँदै आएको छ।

केन्द्रिय कार्यसमितिको बैठकमा बोलेका झन्डै ८५ जना केन्द्रिय सदस्यहरु मध्ये अधिकांशले पार्टीले सरकारको नेतृत्व दावी गर्नुपर्ने माग राखेको नेताहरुले बताएका छन्।

तर त्यसबारे अन्तिम निर्णय लिने जिम्मा पार्टी सभापति सहित वरिष्ठ नेता शेर बहादुर देउवा र रामचन्द्र पौडेललाई दिइएको छ।

काँग्रेस केन्द्रिय सदस्य नवीन्द्रराज जोशीले भने, “तीन जना नेताले सल्लाह गरेर अन्य दलसँग वार्ता गर्ने र को प्रधानमन्त्री हुने भन्नेबारे निर्णय गर्ने भन्ने कुरा भएको छ, आवश्यक परे फेरि हामीलाई बोलाउन भन्दै जिम्मेवारी दिएको छौँ।”

शुक्रबारसाँझ नै एकीकृत माओवादीका शीर्ष नेतृत्वसँग प्रधानमन्त्री सहित काँग्रेस नेताहरुले छलफल गरी आफ्नो दललाई समर्थन गर्न आग्रह गरेका थिए।

साँझ बसेको पार्टी पदाधिकारीको अनौपचारिक छलफलमा नेता शेखर कोइरालाले ९० प्रतिशत केन्द्रिय सदस्यले कांग्रेसले सरकारको नेतृत्व दावी गर्नुपर्ने माग गरेकाले तत्काल उम्मेदवार तोक्न दबाब दिएका थिए।

विवाद

पार्टी महामन्त्री कृष्ण सिटौला र सहमहामन्त्री पूर्ण बहादुर खड्काले त्यसको प्रतिवाद गरेपछि त्यहाँ केहीबेर चर्काचर्की समेत भएको एक जना नेताले बीबीसीलाई बताए।

त्यसक्रममा महामन्त्री सिटौलाले भावी सरकारमा आफूलाई कुनै पनि पद नचाहिने भन्दै देशलाई बन्धक बनाउने र आफू तल पर्ने खालको निर्णय काँग्रेसले गर्न नहुने धारणा राखेका थिए।

सिटौला सहित कतिपय नेताले नयाँ संविधान बन्न मार्ग प्रशस्त गरेको ठानिएको १६ बुँदे सहमति गर्दा संविधान बनेपछि एमालेलाई सरकारको नेतृत्व दिने भनि भएको भद्र सहमति पार्टीले पालना गर्नुपर्ने माग गरिरहेका छन्।

तर केन्द्रिय समितिको बैठकमा प्रधानमन्त्री कोइरालाले त्यस्तो कुनै समझदारी नभएको धारणा राखेको नेता अर्जुन नरसिं केसीले बताए।

उनले भने, “पार्टी सभापतिले नै त्यस्तो सहमति भन्दा पनि पार्टीको संस्थागत निर्णय नै प्रमुख हो, त्यस्तो केही पनि भएको छैन भनिसकेपछि त्यतातिर त्यस्तो चर्चा र छलफल भएन।”

तर विगतमा भएको सहमति पालना नगर्दा अहिले पार्टीको पोल्टामा रहेको राष्ट्रपतिको पद समेत गुमाउनुपर्ने चेतावनी केही नेताहरुले पार्टी सभापतिलाई दिइरहेका छन्।

अर्थमन्त्री रामशरण महत लगायतका केही नेताले पार्टीले प्रधानमन्त्रीको उम्मेदवार तोक्ने निर्णय गर्ने हो भने बहुमत जुटाउने जिम्मा स्वयं उम्मेवारले नै लिनुपर्ने विचार व्यक्त गरेको बताइएको छ।

नयाँ संविधान बनेपछि भारतका तर्फबाट आएको चिसो प्रतिक्रियाले देशमा उत्पन्न गराएको असहज परिस्थितिका माझ भावी प्रधानमन्त्रीबारे पनि सहमतिकै आधारमा अघि बढ्नुपर्ने दबाब काँग्रेसमाथि छ।