चिनियाँ पुरुषहरु धूमपानको लतमा

  • 10 अक्टोबर 2015
चिनियाँ पुरुष तस्वीर कपीराइट Getty
Image caption चिनियाँ महिलाहरु खासै धूमपान गर्दैनन्, तर अधिकांश पुरुषहरुमा चुरोट पिउने लत देखिन्छ

एउटा नयाँ अध्ययनले भनेको छ, सन् दुईहजार तीस सम्ममा चीनमा धूमपानका कारण बर्षेनी बीसलाख जति मानिसहरुको ज्यान जानसक्छ।

दि लान्सेट जर्नलमा प्रकाशित एक अनुसन्धानले भनेको छ, चीनका झण्डै दुईतिहाइ पुरुषहरुले धूमपान गर्छन् र उनीहरुमा जोखिम पनि बढी छ।

सो अध्ययनले भनेको छ, यदि धूमपान नछोडने हो भने बीस वर्ष मुनिका चिनियाँ युवकहरुमध्ये झण्डै एक तिहाइको धूमपानकै कारण ज्यान जानेछ।

Image caption धूमपान गर्ने पुरुष र महिला

वैज्ञानिकहरुले पन्ध्र वर्षको अन्तरालमा पुरै चीनभरि लाखौं मानिसहरुको अध्ययन गरेका थिए।

अध्ययन

ब्रिटेनस्थित अक्सफोर्ड विश्वविद्यालय, चाइनिज एकेडेमी अफ मेडिकल साइन्सेज र चाइनिज सेन्टर फर डिजीज कन्ट्रोलका वैज्ञानिकहरुले संयुक्तरुपमा उक्त अध्ययन गरेका ‌थिए।

पाँच वर्षअघि चीनमा धूमपान तथा सूर्तीजन्य रोगहरुका कारण झण्डै दशलाख मानिसहरुको ज्यान गएको अनुमान गरिएको थियो।

चिनियाँ महिलाहरु खासै धूमपान गर्दैनन्, तर अधिकांश पुरुषहरुमा चुरोट पिउने लत नै देखिन्छ।

बेइजिङस्थित बीबीसीका संवाददाता मार्टिन पेसेन्स भन्छन्, चीनमा राजधानी बेइजीङ लगायतका शहरहरुमा सार्वजनिक स्थलहरुमा धूमपान गर्नमा प्रतिबन्ध लगाइएको छ, तर मानिसहरुले तिनका आदत छोडन सकेको देखिंदैन।

उनी भन्छन्, संसारभरि हुने चुरोटको खपतमध्ये एक तिहाइ चीनमा हुन्छ र धेरै मानिसहरुले समय बिताउन पनि चुरोट पिउने गर्दछन्।

अनुसन्धानकर्ताहरु भन्छन्, विकसित मुलुकहरुमा धूमपान गर्ने मानिसहरुको संख्या घटेको छ।

धूमपान

अमेरिकामा अहिले बीस प्रतिशत भन्दा कम मानिसले मात्र धूमपान गर्दछन्। तर चीनमा भने मानिसहरुको क्रयशक्ति बढेको र चुरोट सजीलै पाइने हुनाले धूमपान गर्नेहरुको संख्या बढेको छ।

चीनमा झण्डै तीस करोड मानिसहरुले धूमपान गर्छन् र उनीहरुले प्रतिदिन औसत बाइस खिल्लीसम्म चुरोट पिउँछन्।

विश्व स्वास्थ्य संगठनका अनुसार चुरोट पिउनेहरुमध्ये आधि मानिसको ज्यान धूमपानजन्य रोगकै कारण जाने गरेको छ।

अनुसन्धानमा संलग्न एकजना वैज्ञानिक रिचार्ड पिटो भन्छन्, मुख्य कुरा चुरोट वा सूर्तीजन्य पदार्थको प्रयोग गर्ने बानी छाडनु हो।

उनको सल्लाह छ, यदि तपाईं युवा हुनुहुन्छ भने चुरोट नपिउनोस्।