अंकारा विष्फोटः ९५ को मृत्यु, दुई सय बढी घाइते

  • 11 अक्टोबर 2015
तस्वीर कपीराइट AFP
Image caption कुर्दिश समर्थक एचडीपी पार्टीले बम विष्फोटमा मारिनेहरुमा धेरै आफ्ना समर्थकहरु भएको बताएको छ

टर्किश सरकारले राजधानी अंकारामा शनिबार एउटा शान्ति र्यालीमा गराइएको संदिग्ध बम विष्फोटमा कम्तीमा ९५ जना मानिसहरुले ज्यान गुमाएको र दुई सय जनाभन्दा बढी घाइते भएको बताएको छ।

घटनापछि प्रधानमन्त्री अहमेत दावूतव्लूले तीन दिन राष्ट्रिय शोक मनाउने घोषणा गरेका छन्।

घटनास्थलको टेलिभिजन फुटेजमा मानिसहरु आत्तिएर भाग्दै गरेको र कतिपय रगतमा लतपतिएर भूइँमा लडेको दृश्य देखिन्छ।

राजधानीको केन्द्रस्थित एउटा रेल्वे स्टेशन नजिकै वामपन्थी समूहहरुले आयोजना गर्न लागेको र्यालीका लागि मानिसहरु भेला भएका बेला विष्फोट गराइएको थियो।

हिंसात्मक

शनिबारको विष्फोटलाई टर्कीमा गराइएको अहिलेसम्मकै सबैभन्दा हिंसात्मक आक्रमण भएको बताइएको छ।

राष्ट्रिय शोक मनाउने घोषणा गर्दै प्रधानमन्त्री अहमेत दावूतव्लुले दुईजना आत्मघाती हमलाकारीहरुले विष्फोट गराएको प्रमाण फेला परेको बताएका छन्।

उनले भने, “यस्ता घटना र आक्रमणविरुद्ध हामी एकताबद्ध हुनेछौँ भनी देखाउने यो समय हो, यस्ता किसिमका आतंकवादविरुद्ध लड्न हाम्रो सरकार र सबै निकायहरु पूर्णरुपमा प्रतिबद्ध छन् र रहने छन्।”

राष्ट्रपति रिजेप तयीप एर्डोआनले आक्रमणलाई “विभत्स र आतंकवादी” कार्यको संज्ञा दिएका छन्।

तस्वीर कपीराइट REUTERS
Image caption घटनापछि राष्ट्रपति रिजेप तयीप एर्डोआनले तुर्केमिनिस्तान भ्रमण रद्द गरेका छन्

टर्कीमा पहिलो चरणको आमनिर्वाचन अनिर्णित भएपछि दोस्रो चरणको निर्वाचन हुनु तीन साताअघि विष्फोटको घटना भएको हो।

लक्षित

घटनापछि राष्ट्रपतिले पूर्व निर्धारित तुर्केमिनिस्तान भ्रमण रद्द गरेका छन्।

कुर्दिश पृथकतावादी पीकेके र टर्किश सरकारबीच जारी संघर्ष रोक्नुपर्ने माग गर्दै र्याली गर्न लागिएको थियो।

स्थानीय समयअनुसार अपरान्ह १२ बजे र्याली शुरु हुन लागेको थियो।

कुर्दिश समर्थक एचडीपी पार्टीको पनि त्यसमा सहभागिता थियो।

एउटा विज्ञप्ति जारी गर्दै उसले मुख्यतया आफ्ना कार्यकर्ताहरुलाई लक्षित गरी विष्फोट गराइएको बताएको छ।