नयाँ प्रधानमन्त्रीमा केपी ओली निर्वाचित

  • 11 अक्टोबर 2015
तस्वीर कपीराइट rawjendra kc
Image caption नेकपा एमालेलाई एकीकृत माओवादी, राप्रपा नेपालसहित दर्जन भन्दा बढी साना दलको समर्थन रहेको थियो

नयाँ प्रधानमन्त्रीका रुपमा नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी ओली निर्वाचित भएका छन्।

प्रधानमन्त्रीमा निर्वाचित हुन २ सय ९८ सांसदहरुको मत चाहिनेमा ओलीले ३ सय ३८ मत पाएका छन्।

त्यसतै ५ सय ८७ सांसद संख्या मध्य नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले २ सय ४९ मत पाए।

करिब तीन साता अघि जारी भएको नयाँ संविधान अन्तर्गत नियुक्त हुने उनी पहिलो प्रधानमन्त्री भएका छन्।

प्रक्रिया

अब उनले राष्ट्रपतिबाट शपथ लिएपछि आफ्नो कार्यभार सम्हाल्नेछन्।

सहमतिमा सरकार निर्माण हुन नसकेपछि राष्ट्रपतिको आह्वानमा शुक्रबारबाट बहुमतीय प्रक्रिया सुरु भएको थियो।

नयाँ प्रधानमन्त्रीका लागि संसदले आह्वान गरेपछि शनिबार दुई सत्ताधारी दलहरु नेपाली कांग्रेस र नेकपा एमालेका दुई प्रमुखहरुले आफ्नो उम्मेद्वारी दर्ता गराएका थिए।

अध्यक्ष ओलीलाई एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए भने अर्को प्रतिपक्षी दल राप्रपा नेपालका अध्यक्ष कमल थापाले समर्थन गरेका थिए।

अनुरोध

त्यसबाहेक संविधान जारी गर्ने अन्तिम समयमा बाहिरिएको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छ्दारले एमाले र एकीकृत माओवादीसंग ८ बुँदे सहमति गर्दै ओलीलाई समर्थन गरेका थिए।

ओलीलाई अन्य एक दर्जनभन्दा बढी साना दलहरुको समर्थन रह्यो।

त्यस्तै प्रधानमन्त्री सुशील कोइरालालाई भने असन्तुष्ट तराई केन्द्रीत दलहरुको समूह संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संसद सुरु हुनु केही अघि सहयोग गर्ने निर्णय गरेको थियो।

आईतबार केही ढिला गरि सुरु भएको व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्रीका दुबै प्रत्यासीले सम्बोधन गरेका थिए।

त्यही क्रममा ओलीले आफुहरुले अन्तिमसम्म पनि कांग्रेसलाई सघाएको भन्दै विगतको सहमतिको आधारमा प्रधानमन्त्री सुशील कोइरालालाई आफ्तो तर्फबाट उम्मेदवारी फिर्ता लिएर आफुलाई समर्थन गर्न आग्रह गरेका थिए।

उनले संसदमा बोल्दै भने, "मलाई मतदान गर्न सबै सांसदहरुलाई अनुरोध गर्दछु, मतदान नगर्नेलाई पश्चाताप हुनेछ, बाडुली लाग्नेछ।"

सहमति

तस्वीर कपीराइट rawjendra kc

उनलाई प्रस्ताव गरेका प्रचण्डले पनि कांग्रेसलाई सबैले समर्थन गर्दै आएकोमा उसले अहिले एमालेलाई नगरेको भन्दै आलोचना गरेका थिए।

प्रचण्डले यसरी कांग्रेसले सहयोग नगर्नु विडम्बनापूर्ण भएको भन्दै त्यसमा दुख लागेको बताएका थिए।

त्यस्तै एमालेलाई राप्रपा नेपालले पनि समर्थन गरेको थियो।

एमालेले राष्ट्रियताको सम्मान गर्दै तराईमा देखिएको असन्तुष्टि हटाउन र नवनिर्माणमा जुट्नेतर्फ लाग्ने विश्वासमा आफुले समर्थन गरेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताए।

संसदमा ओलीको समर्थन गर्ने बेला प्राय सबै सांसदहरुले कांग्रेसलाई आफ्नो उम्मेदवारी फिर्ता लिन र मिलेर जान आग्रह गरेका थिए।

तर शनिबारैदेखि आफ्नो उम्मेदवारी फिर्ता नलिने बताउँदै आएको नेपाली कांग्रेसले आफ्नो अडान कायम राखेको थियो।

संसदमा बोल्दै प्रधानमन्त्री कोइरालाले पदका लागि आफु प्रधानमन्त्री हुन नचाहेको बताएका थिए।

उनले भने, "केपी ओली प्रधानमन्त्री हुनुभयो भने पनि म उहाँलाई सहयोग गर्नेछु। म त्यो प्रजातान्त्रिक अभ्यासमा हुर्किँदै आएको हुँ।"

उनी बोले लगत्तै उनलाई प्रस्ताव गरेका शेरबहादुर देउवा र समर्थन गरेका रामचन्द्र पौडेलले संसदमा बोलेका थिए।

उनीहरुले जारी भएको नयाँ संविधानको कार्यान्वयनका लागि कोइराला पुन: प्रधानमन्त्रीमा उठ्न लागेको बताएका थिए।

चुनौति

नयाँ प्रधानमन्त्री केपी ओलीका सामु धेरै चुनौतिहरु रहेको विश्लेषकहरु बताउँछन्।

तराई मधेशमा जारी आन्दोलनलाई सम्बोधन गर्नु अनि महत्वपूर्ण छिमेकी भारतसंगको सम्बन्ध सुधार्नु सबभन्दा ठूलो चुनौति देखिन्छ।

आन्दोलन र नाका अवरोधका कारण इन्धन लगायत अत्यावश्यक वस्तुहरुको आपूर्तिमा देखिएको कठिनाईको तत्काल सम्बोधन ओलीका निम्ति अर्को ठूलो चुनौति रहनेछ।