‘मोर्चाले प्रधानमन्त्रीको कार्यनीति हेर्ने’

  • 12 अक्टोबर 2015
तस्वीर कपीराइट subha narayan yadav
Image caption मतदान प्रक्रियामा सहभागी भएपनि आन्दोलन जारी राख्ने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बताएको छ

नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ‌ओलीले आफू मधेश विरोधी नभएको बताइरहँदा आन्दोलनरत तराई केन्द्रित दलहरुले उनलाई व्यवहारको कसीमा जाँच्ने बताएका छन्।

उनले अब लिने कदमले नै तराईको समस्या सुल्झने वा बल्झने विषय तय हुने उनीहरुको भनाई छ।

तराई केन्द्रित दलहरुको आन्दोलनको सवालमा अहिलेसम्म तुलनात्मक रुपमा कठोर ठानिएका ओलीले प्रधानमन्त्रीमा चुनिनुअघि संसदमा मन्तव्य दिने क्रममा आफू मधेशको विरोधी नभएको स्पष्ट पार्न खोजेका थिए।

उनका प्रत्यासी सुशील कोइरालालाई भोट हालेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले ओलीलाई आफ्नो उक्त वाचालाई व्यवहारमा उतार्न भनेका छन्।

समाधान

तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले भने, “कसरी चाँडोभन्दा चाँडो निकास हुन सक्छ भन्ने विषयमा जसरी उहाँ [केपी ओली] ले भन्नुभएको छ, त्यही अनुसार प्रस्तुत हुनुभयो भने मलाई लाग्छ हामी आन्दोलनरतहरुका लागि र समग्र देशकै लागि, अहिले अभावमा बाँचिरहेका जनताको लागि सुखद कुरा हुनेछ।”

प्रधानमन्त्री निर्वाचन प्रक्रियासँगै तीन मुख्य दलबीच टुटेको सम्बन्ध र नयाँ प्रधानमन्त्रीका रुपमा ओली चुनिएपछि तराई आन्दोलन र त्यसले निम्त्याएको इन्धन समस्याको समाधान कसरी हुन्छ भन्नेमा आमचासो बढेको देखिन्छ।

मोर्चाले सरकारमा सहभागी नहुने बताएको छ।

स्वरुप

यद्यपि प्रजातान्त्रिक प्रक्रियामा भाग लिने भन्दै प्रधानमन्त्री निर्वाचनमा नेपाली कांग्रेसलाई सघाएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले प्रधानमन्त्री ओलीको कदमले नै आन्दोलनको स्वरुप स्पष्ट हुने बताएका छन्।

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण भन्छन्, “आन्दोलनको स्वरुप परिवर्तनको पक्षमा हामीहरु छैनौं, तर सरकारको रुप परिवर्तन भयो, उहाँ [केपी ओली] वार्ता शुरु गर्नुहुन्छ, मधेशको समस्या सम्बोधन गर्नुहुन्छ भने त्यस अवस्थामा आन्दोलनको स्वरुप परिवर्तन किन हामी आन्दोलन नै हामी रोक्न सक्छौं।”

तराईमा आन्दोलनरत रहेकै अर्को मोर्चाका प्रमुख घटक मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले चाहिँ आठ बुँदे सहमति गरी नेकपा एमाले नेतृत्वको नयाँ सरकारलाई समर्थन दिइसकेको छ।