मलेशियाको विमानमा क्षेप्यास्त्र प्रहार: प्रतिवेदन

  • 13 अक्टोबर 2015

नेदरल्याण्डस् को सूरक्षा बोर्डले मलेशिया एअरलाइन्सको उडान एमएच सेभेन्टीन, रुसमा बनेको बीयूके क्षेप्यास्त्र प्रहारबाट दुर्घटनाग्रस्त भएको बताएको छ।

डच सुरक्षा बोर्डका अध्यक्षले उक्त यात्रुवाहक विमानको ककपीटको एकदमै नजिक, बियुके सिक्स नामक जमिनबाट हावामा प्रहार गरिने क्षेप्यास्त्र विस्फोट भएको बताएका छन्।

सो घटनाको प्रमुख छानविनकर्ताले एउटा पत्रकार सम्मेलनमा बोल्दै, उक्त यात्रुबाहक विमान खसालिएको घटनाका बारे भएको अनुसन्धानले सो सम्बन्धमा चासोका व्र्यक्तिहरु भन्दै केहीको पहिचान भएको बताएका छन्।

तर उनले कुनै पनि संदीग्धको नामै भने लिएनन्।

विस्फोट

उक्त क्षेप्यास्त्र सो विमानको अग्रभागको बायांपट्टि विस्फोट भएको र परिणाम स्वरुप विमानको अन्य भाग पनि टुक्रीएको थियो।

२९८ जनाको ज्यान जाने गरी सन् २०१४ को जुलाई महिनामा भएको उक्त दुर्घटनाका सम्बन्धमा गरिएको अनुसन्धानको अन्तिम प्रतिवेदनले सो कुरा बताएको छ।

पश्चिमा देश र युक्रेनले उक्त बोइंग सेभेन सेभेन सेभेन विमानलाई रुसको समर्थनप्राप्त विद्रोहीहरुले खसालेका भन्ने गरेका छन् भने रुसले सो दुर्घटनाका लागि युक्रेनी सैन्यहरुलाई दोष दिने गरेको छ।

तस्वीर कपीराइट EPA

उक्त अनुसन्धान प्रतिवेदनले सो क्षेप्यास्त्र हमला कसले गरेको थियो भनेर बताएको छैन तर पूर्वी युक्रेन माथिको हवाई क्षेत्र तत्कालीन समयमा उडानका लागि बन्द गरिनु पर्थ्यो भनेको छ।

नेदरल्याण्ड्सको एम्सटरड्यामबाट मलेशियाको कुआलालम्पुर तर्फको उडानमा रहेको उक्त यात्रुवााहक विमान युक्रेनको सरकारी सैन्य र रुस समर्थक पृथकतावादीहरुबीचको तनाव चरमचुलीमा रहेको बेला दुर्घटनाग्रस्त भएको थियो।

सो दुर्घटनामा मारिनेहरु मध्ये १९६ जना नेदरल्याण्ड्स् का नागरिकहरु थिए।

आफन्त

उक्त प्रतिवेदनका अनुसार क्षेप्यास्त्र विस्फोट हुने वित्तिकै विमानको ककपीटमा रहेका तीनजना चालकदलका सदस्यहरु मारिएका थिए।

तस्वीर कपीराइट Getty

नेदरल्याण्ड्सको सुरक्षा बोर्डले आफ्नो अनुसन्धानको प्रतिवेदन सबभन्दा पहिले उक्त दुर्घटनामा मारिएकाहरुको आफन्तहरु समक्ष सार्वजनिक गरेका थिए।

त्यसपछि सो प्रतिवेदन पत्रकारहरु समक्ष प्रस्तुत गरीएको थियो।

त्यस क्रममा सो बोर्डले पूर्वी युक्रेनमा विद्रोही नियन्त्रित डोनेत्सक क्षेत्रबाट ल्याइएको उक्त दुर्घटनाग्रस्त विमानको भग्नावशेषहरुका केही भाग पनि प्रदर्शन गरेको थियो।

सुरक्षा बोर्डका प्रमुखले विमानको भग्नावशेषभित्र फेला परेका धातुका टुक्राहरु र जमीनमा फेला परेका क्षेप्यास्त्रका टुक्राहरु मेल खाएको बताएका थिए।