पूर्व जेरुसलेममा कडा इजरेली सुरक्षा

  • 14 अक्टोबर 2015

इजरेली सैन्यले, प्यालेष्टीनीहरुबाट भइरहेका आक्रमणको घटनामा वृद्धि देखिएपछि अधिनस्थ पूर्व जेरुसलेमका अरब क्षेत्रहरुमा ठूलो सुरक्षा कार्वाही थालेको छ।

प्रहरीले मंगलबार तीनजना इजरेलीहरुको ज्यान लिएका तीनजना मानिसहरु बसोबास गर्ने ठानिएको जबाल मुबाबेर क्षेत्र प्रवेश गर्ने सबै बाटोहरु बन्द गरिदिएको छ।

इजरेली सेनाले सुरक्षा व्यवस्था कडा तुल्याउन सैयौं सैनिकहरुलाई परिचालन गरेको छ।

बन्द

पूर्व जेरुसलेममा रहेका बीबीसीका जोनी डायमण्ड भन्छन्, अरब क्षेत्रहरु तर्फ जाने बाटोहरुलाई प्रहरीका बाहनहरुले छेकेर बन्द गरिदिएका छन्।

अन्य क्षेत्रमा हतियारधारी प्रहरीले पहरा दिइरहेका छन्।

गएरात, इजरेलको सुरक्षा क्याबिनेटले हिंसा वा द्वन्द्व हुनसक्ने वा भड्किन सक्ने क्षेत्रलाई घेराबन्दी गर्न वा बन्द गर्न प्रहरीलाई ‌अधिकार दिने निर्णय पनि गरेको थियो।

इजरेलीहरुमाथि आक्रमण गर्ने प्यालेष्टीनीहरुको घर केही दिन भित्रै भत्काइने र फेरि बनाउन नदिइने निर्णय पनि गरिएको छ। जेरुसलेममा बस्न पाउने तिनीहरुको परिवारजनको अधिकार पनि खारेज गरिने छ।

चेतावनी

मंगलबार एउटा मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले पूर्व जेरुसलेमका केही भागहरु बन्द गर्ने इजरेली कदमबाट त्यहां बसोबास गर्ने सबै प्यालेष्टीनी बासिन्दाको हिंडडुल गर्न पाउने अधिकार उलंघन हुन जाने भनी चेतावनी दिएको थियो।

तस्वीर कपीराइट .

यसैबीच, इजरेली सेनाले प्रहरीलाई सघाउन ६ कम्पनी सैनिक परिचालनको तयारी गरिरहेको जनाएको छ।

प्रहरीको कमाण्डमा हाल तीनसय सैनिकले थप सुरक्षा प्रदान गरिरहेका छन्।

गत दुई हप्ताको समयमा प्यालेष्टीनीहरुले गरेका गोली प्रहार र धारीलो हतियार प्रहारको घटनाहरुमा सात जना इजरेलीहरुको ज्यान गइसकेको छ।

केही हमलाकारीहरुका साथै कम्तीमा अन्य १८ जना प्यालेष्टीनीहरु पनि मारिएका छन्।