सभामुखको निर्वाचन शुक्रबार

  • 14 अक्टोबर 2015
तस्वीर कपीराइट bbc
Image caption सभामुखमा दोहोरिएका नेम्वाङ्गले अन्त्यमा संविधान जारी गर्ने सफलता पाए

सभामुख सुवासचन्द्र नेम्वाङ्गको राजनीमापश्चात उनको ठाउँमा एकीकृत माओवादीले प्रस्ताव गरेको उम्मेदवारलाई जिताउने दुई मुख्य दलबीच सहमति भएपनि सो पदमा कसलाई ल्याउने भन्नेबारे एकीकृत माओवादीले अझै निर्णय गरिसकेको छैन।

साथै नेकपा एमाले र एकीकृत माओवादीमाझ कस कसलाई मन्त्री बनाउने भन्ने बारे बुधबार पनि कुनै ठोस निर्णय हुन सकेन।

सभामुख र उपसभामुखको निर्वाचन पर्सि शुक्रबारको निम्ति तोकिएको छ।

छलफल जारी

२०६२/६३ को जनआन्दोलनपश्चात गठित अन्तरीम संसद देखि पहिलो अनि दोस्रो संविधानसभाको वाग्डोर सम्हालेका नेम्वाङ्गले आज राजीनामा दिएका हुन्।

उक्त रिक्त भएको पद राजनीतिक सहमति भए विहिबार नभए शुक्रबार निर्वाचन गरेर पूर्ति गरिने आज संसदले निर्णय गरेको छ।

सभामुखको पदमा एकीकृत नेकपा माओवादीको उम्मेदवारलाई समर्थन गर्ने नेकपा एमाले सहमत देखिएको छ।

तर हालसम्म माओवादीले सो पदका निम्ति कुनै उम्मेदवार तोक्न सकेको छैन।

वर्तमान पार्टी प्रमुख सचेतक गिरिराजमणि पोखरेल देखि राम कार्की सम्मको चर्चा चलेपनि कुनै निर्णय भइनसकेको नेताहरुले बताएका छन्।

बुधबार बसेको उक्त दलको बैठकले सभामुख तथा सरकारमा उसका तर्फबाट सामेल हुने मन्त्रीहरुबारे कुनै निधो दिन सकेन।

बरु दलित, जनजाति, मधेशी, महिला लगायतलाई समेट्ने गरी मापदण्ड बनाइएको पार्टी प्रवक्ता दिनानाथ शर्माले बताए।

“सरकारको नेतृत्व पार्टीबाट कसले गर्ने भन्ने विषयमा पनि कुरा भएको छ। अहिले मोटामोटी दुई जना कृष्णबहादुर महरा र टोपबहादुर रायमाझीको कुरा भएको छ। अरु आकांक्षीपनि हुनुहुन्छ। तर यी दुई जनाको कुरा बढी भएको छ,” शर्माले भने।

सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेलेपनि उसको तर्फबाट नियुक्त हुने थप मन्त्रीको नामबारे कुनै निर्णय लिन सकेको छैन।

“कुन पार्टीले कुन मन्त्रालय लिने भन्ने बारे निश्कर्ष निस्किएको छैन। पार्टीहरुभित्रका यी छलफलका प्रकृयाले अझै केही समय लिन्छ होला,” एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भने।

प्रतिस्पर्धा

नेपाली कांग्रेसले प्रधानमन्त्रीको चुनावमा आफ्नो उम्मेदवार उठाएपछि एमाले र एकीकृत माओवादीसंग शक्ति बाँडफाँडको पुरानो सहमति भत्किएको बताइंदै गर्दा बुधबार कांग्रेस पदाधिकारीको बैठकले राष्ट्रपति देखि सभामुख सम्म सबै पदमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ।

आफुलाई प्रधानमन्त्री पदमा मत दिई साथ दिएका दलहरुका अतिरिक्त अन्य सबै दलसंग यसबारे छलफल गरिने निर्णय भएको पार्टी प्रवक्ता दिलेन्द्र बडुले जानकारी दिएका छन्।

मन्त्रालय तथा सभामुख अनि राष्ट्रपति पदको बाँडफाँडमा मुख्रय दलहरुको ध्यान केन्द्रित भइरहँदा मधेशकेन्द्रित दलहरुसंगको वार्ता प्रक्रिया ओझेलमा परेको छ।