निर्वाचनबारे निर्णय गर्न मोर्चाको बैठक

  • 15 अक्टोबर 2015
तस्वीर कपीराइट upendra yadav facebook
Image caption मोर्चामा सामेल उपेन्द्र यादवले संसद बहिष्कार नगरेको दाबी गरेका छन्

प्रधानमन्त्री चयनका निम्ति भएको मतदानमा भाग लिएपछि आन्तरिक समस्यामा परेको बताइएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सभामुख तथा राष्ट्रपति पदका लागि हुने निर्वाचनमा भाग लिने वा नलिनेबारे निर्णय गर्न बिहिबार बैठक बोलाएको छ।

तर ती पदका लागि आफ्ना उम्मेद्वार भने नउठाउने मोर्चाका एक नेताले बताए।

संविधानका प्रति जलाएपनि त्यसअन्तर्गत यसै साताको शुरुमा भएको प्रधानमन्त्रीको चुनावमा भाग लिएपछि मोर्चाका तराई केन्द्रित दलका नेताहरु आफ्नै कार्यकर्ताबाट आलोचित बनेका छन्।

अचानक नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको समर्थनमा मतदान गर्न संसदमा प्रवेश गरेका मोर्चाका सांसदरुमाझ अझै उक्त निर्णयबारे विवाद जारी नै छ।

निर्वाचन

यसै सन्दर्भमा शुक्रबार सभामुख पदका लागि निर्वाचन र दशैं लगत्तै राष्ट्रपति पदका लागि निर्वाचन हुने कार्यक्रम छ।

त्यसमा के गर्ने भन्नेबारे बिहिबार बस्ने मोर्चाको बैठकले निर्णय लिने संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताए।

उनले भने, “हामीले संसदीय अभ्यासमा भाग नै लिदैनौँ, बहिष्कार नै गर्छौँ भनेका छैनौँ, संसदीय गतिविधि हामीले बहिष्कार गरेका छैनौँ, तर यो त चुनावको कुरा हो, चुनावमा भाग लिने, भोट हाल्ने वा नहाल्ने विषयमा निर्णय गर्न बाँकी छ, बिहिबार बस्ने बैठकपछि मात्र यसबारे टुंगो लाग्छ।”

उम्मेद्वारी

तर यादवले मोर्चाका तर्फबाट ती पदमा कुनै उम्मेद्वारी भने नदिइने संकेत गरे।

उनले भने, “हाम्रो चाहना सत्ताको खेल हुँदै होइन, हाम्रो मोर्चाले कुनै पनि पदमा उम्मेद्वारी दिदैन।”

चाडपर्वअघि तराईमा जारी आन्दोलन र नाकाबन्दीले देशभर जनजीवन प्रभावित भईरहेकामा ती आन्दोलनका स्वरुपबारे पनि मोर्चाको बैठकमा छलफल हुने ठानिएको छ।

यसअघि मोर्चाले नाकामा अवरोध नपुर्याए पनि धर्ना र बन्दका कार्यक्रम जारी राख्ने निर्णय गरेको थियो।