आप्रवासीबारे टर्की र इयुबीच नयाँ सम्झौता

  • 16 अक्टोबर 2015
तस्वीर कपीराइट Reuters
Image caption समुद्री बाटोबाट खासगरी टर्कीबाट ग्रीस हुँदै यो वर्ष हालसम्म झण्डै ६ लाख आप्रवासीहरु युरोप पुगेका छन्

युरोपेली मुलुकहरुले टर्कीका लागि आप्रवासीहरुको युरोप प्रवेश सहज बनाउनेसम्बन्धी एउटा कार्य योजनामा सहमति गरेका छन्।

समुद्री बाटोबाट खासगरी टर्कीबाट ग्रीस हुँदै यो वर्ष हालसम्म झण्डै ६ लाख आप्रवासीहरु युरोप पुगेका छन्।

ब्रसेल्समा आयोजित एउटा पत्रकार सम्मेलनमा युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टुस्कले उक्त सम्झौताबाट आफूले 'सावधानीपूर्ण अपेक्षा' गरेको बताए।

ब्रसेल्समा युरोपेली अधिकारीहरुले टर्कीसँग गरेको सम्झौताअनुसार युरोपेली युनियनको सीमारहित क्षेत्र शेङ्गेनमा टर्किशहरुको प्रवेशका लागि सहज भिषा नीति अवलम्बन गरिने छ भने इयुको वार्ताहरुमा टर्कीलाई सामेल गराउनका निम्ति नयाँ व्यवस्था गरिने छ।

सहायता

टर्कीले आप्रवासी मामिलामा सघाएको बदलामा युरोपेली मुलुकहरुसमक्ष विभिन्न मागहरु अघि सारेको थियो।

उसले सहायतास्वरुप ३ अर्ब युरो समेत माग गरेको थियो।

जर्मन चान्सलर एंगेला मर्केलका अनुसार उक्त सहयोग रकम टर्कीलाई उपलब्ध गराउका निम्ति युरोपेली मुलुकहरुले पहिल्यैदेखि विचार गरिरहेका छन्।

युरोपेली आयोगका अध्यक्ष जाँ क्लोड यूंकरले टर्कीलाई सहायता रकम उपलब्ध गराउने विषयमा आउँदा दिनहरुमा वार्ता जारी रहने बताए।

मर्केलले यसै सप्ताहन्तमा टर्कीको भ्रमण गर्ने तय भएको छ।

सावधानीपूर्वक

उनले भनिन्, “अझ धेरै गर्न बाँकी छ तर तपाईंले यो भन्न सक्नुहुन्न कि हामीले केही हासिल गरेकै छैनौँ।”

स्रोतहरुका अनुसार टर्कीसँग सम्झौता गर्न इयुले निकै हतार गरिएको भन्दै कतिपय युरोपेली मुलुकहरुले त्यसलाई सावधानीपूर्वक हेरिरहेका छन्।

त्यस्ता मुलुकहरुमध्ये ग्रीस, साइप्रस र फ्रान्स पनि रहेको बताइएको छ।

यसअघि बिहिबार मर्केलले आन्तरिक नाकाहरु बन्द गर्नका निम्ति सुरक्षा अधिकारीहरु पठाउन युरोपेली मुलुकहरु तयार रहनुपर्ने बताएकी थिइन।

टर्कीमा हाल २० लाखभन्दा बढी आप्रवासीहरु छन्, जसमध्ये अधिकांश सिरियाली द्वन्द्वका कारण भागेर पुगेका मानिसहरु छन्।